आउटरिच नेपालले आफ्ना एक्टिभेसन तथा डिजिटल पार्टनरहरू लेमन र डिजिटलीइनसँग मिलेर यस पटक पनि फ्लेम अवार्ड साउथ इस्ट एसिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ।
यी अवार्डहरूमा युनिलिभरका लागि ७ अवार्ड, सामसङका लागि २ अवार्ड, एनसेलका लागि २ अवार्ड, माउण्टेन ड्युका लागि १ अवार्ड र शिखर इन्स्योरेन्सका लागि १ अवार्ड प्राप्त गरेको छ। ती पुरस्कारमध्ये ३ स्वर्ण, ५ रजत र ५ काँस्य अवार्ड हुन्।
फ्लेम अवार्डको आयोजना रुरल मार्केटिङ एसोसिएसन अफ इण्डिया (आरएमएआई) ले गरेको हो।
व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ।
यस वर्षको अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डबाट सहभागिता रहेको थियो।
यो पटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा धेरै आवेदन परेको थियो।
पारदर्शीता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्ट एण्ड यङद्वारा आधिकारिक रूपमा अडिट गरिएको थियो।
निर्णायक मण्डलको सह–अध्यक्षता बिस्लेइन्टरनेसनलका सिइओ एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा सिइओ डा. वेङ्कट्राम वसन्तवाडाले गरेका थिए, जसमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञहरू र भियतनाम, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, नेपाल, इन्डोनेसिया र सिङ्गापुरका १५ भन्दा बढी ख्यातिप्राप्त दक्षिण पूर्व एसियाली निर्णायकहरू सहभागी थिए।