नवलपुरको गैंडाकोटस्थित मौलाकाली केवलकार सञ्चालनमा आएको छ।
गत भदौ २४ गते जेन–जी आन्दोलनकोक्रममा तोडफोड र आगजनी गरिएपछि केवलकार बन्द भएको थियो।
दुई महिनाभन्दा लामो समयपछि केवलकार पुनः सञ्चालनमा आएको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए।
तोडफोड र आगजनीका कारण केवलकारको बटम स्टेशनमा रहेको कार्यालय भवन, फर्निचर तथा प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएको थियो।
केवलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरु आएर केवलकारको पुनर्निर्माण गरेका हुन्।
पुनर्निर्माणपछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको समूहले लामो समय परीक्षण गरेपछि नियमित सञ्चालनमा ल्याइएको स्टेशन म्यानेजर पौडेलले बताए।
अब केवलकार पूर्ववत् तालिका अनुसार विहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। केवलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो।
होटलको सेवा यथावत नै भए पनि केवलकार नचलेका कारण सेवाग्राही कम पुगेका थिए। केवलकार सञ्चालनमा आएपछि होटलका सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवा दिन सकिने इला रिसोर्ट तथा मौलाकाली केवलकारका महाप्रबन्धक अरबिन्द्र केसीले बताए।
केवलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको थियो।
केवलकार सञ्चालनमा आएपछि मन्दिरमा भक्तजनको संख्यामा ३० प्रतिशत बढीले वृद्धि भएको थियो। केवलकार नचल्दा मन्दिरमा भक्तजनको चहलपहल निकै कम देखिएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए।
२०८० साल वैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केवलकारबाट करिब ६ लाख सेवाग्राहीले सेवा लिइसकेका छन्।