करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनातर्फ महत्वपूर्ण कदम चाल्दै चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नो उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार पीभी प्रणाली जडान गरेको छ।
नोभेम्बरदेखि सञ्चालनमा आएको यो प्रणालीपछि कम्पनी नेपालमै पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ।
यसैसँग यशोदा फुड्सले 'नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी' को उपाधि पनि हात पारेको छ। सौर्य प्लान्टमार्फत प्लान्टको करिब ८० प्रतिशत विद्युत् आवश्यकता पूरा हुने लागत ६५ प्रतिशतले घट्ने र कार्बन उत्सर्जनमा उल्लेखनीय कटौती हुने अनुमान गरिएको छ।
प्राइम रिन्यूएवल्स प्रालिले ईपीसी ठेकेदारको रूपमा तीन महिनाभित्र परियोजना सम्पन्न गरेको हो। परियोजनामा एनएमबी बैंकले वित्तीय सुविधा उपलब्ध गराएको थियो भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जर्मन ग्रान्ट डीकेटीआई मार्फत व्याज अनुदानसहितको सहयोग प्रदान गरेको थियो।
उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. साहले हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुने र दुई हजार टन सीओटु उत्सर्जन बचत हुने बताए।
एईपिसिका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
नेपालमा औद्योगिक क्षेत्रहरू छानामाथिको सौर्य ऊर्जा अपनाउन उत्साहित बन्दै गएका छन्। हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगमा सोलार रूफ–टप प्रणाली जडान भइसकेको छ।
कार्यक्रममा यशोदा फुड्स, एईपिसि तथा प्राइम रिन्यूएवल्सका अधिकारीहरूको उपस्थिति रहेको थियो।