नेपाल आयल निगमले पेट्रोलमा दश प्रतिशत इथानोल मिसाउन पाउने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इथानोल मिश्रण गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेसँगै यो बाटो खुलेको हो।
इथानोल मिसाउने योजना निगमले पहिलेदेखि बनाएको भए पनि अनुमति पाएको थिएन।
अब मन्त्रिपरिषदबाट स्वीकृत कार्यविधि पाएपछि इथानोल माग गरिने निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले जानकारी दिए।
'हामीलाई स्वीकृत कार्यविधि प्राप्त भइसकेको छैन,' उनले भने, 'कार्यविधि पाएपछि सार्वजनिक सूचना निकालेर माग गर्छौं।'
उनका अनुसार पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको असर न्यूनीकरण गर्न तथा वैदेशिक मुद्रा सञ्चितिमा सहयोग पुर्याउने उद्देश्यले पेट्रोलमा इथानोल मिश्रण प्रक्रिया अघि बढाएको हो।
'यो अहिलेको आवश्यकता हो। अन्तर्राष्ट्रिय अभ्यास अनुसार हामी पनि अघि बढेका हौं,' उनले भने।
उनका अनुसार आफै तेल उत्पादन गर्ने देशले पनि पेट्रोलमा इथानोल मिसाइरहेका छन्।
भारत, ब्राजिल लगायतका देशले पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिसाइरहेका छन्।
इथानोल भनेको अन्न वा वनस्पतिलाई 'फर्मेन्सन' गरेर बनाइने एक प्रकारको तरल पदार्थ हो।
हाल यहाँ चिनी उद्योगीहरूले इथानोल उत्पादन गरिरहेका छन्। उनीहरूले मोलासिस (खुदो) लाई प्रशोधन गरेर इथानोल बनाउँछन्। उक्त इथानोल बंगलादेश निर्यात हुन्छ।
निगमले नै इथानोल किन्ने भएपछि बाहिर निर्यात नगर्ने उद्योगीहरूले पनि प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वदेशीस्तरमा उत्पादित इथानोल प्रयोग गर्ने भएकाले अन्नबाट भन्दा पनि खेर जाने वनस्पतिबाट इथानोल उत्पादन गरिने कार्यकारी निर्देशक भट्टले जानकारी दिए।
'चामल, मकै, गहुँबाट पनि इथानोल बनाउन सकिन्छ,' उनले भने, 'तर त्यसले खाद्य सुरक्षाको प्रश्न उठाउने भएकाले मोलासिस र कसावा (सिमल तरूल) बाट इथानोल उत्पादन गर्न लगाउँछौं।'
निगमलाई पेट्रोलमा मिसाउन ९९.५ प्रतिशत शुद्धता भएको इथानाले आवश्यक पर्छ। अहिले खपत भइरहेको पेट्रोलमा १० प्रतिशत मिसाउने हो भने दैनिक दुई लाख लिटर इथानोल आवश्यक पर्ने कार्यकारी निर्देशक भट्टले जानकारी दिए।
इथानोल उत्पादन भने निगमले गर्दैन। निजी क्षेत्र मार्फत नै इथानोल आपूर्ति गरिने छ। बजारको सुनिश्चित भएपछि इथानोल उत्पादन गर्न उद्योगीले चासो देखाउने उनको भनाइ छ।
'पहिले पो नीतिगत व्यवस्था थिएन। उद्योगीले लगानी गरेका थिएनन्,' उनले भने, 'अब लगानी गर्छन्।'
उद्योगीले जतिसक्दो छिटो इथानोल उपलब्ध गराउँछन् त्यति नै छिटो इथानोल मिश्रित पेट्रोल बजार पठाउन सकिने छ।
भट्टका अनुसार इथानोलको मूल्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोक्छ भने गुणस्तर विभागले इथानोलको गुणस्तर तोक्ने छ।
'हामीले एक वर्षका लागि इथानोल माग गर्छौं। इथानोलको मूल्य पनि एक वर्षकै लागि तोकिन्छ,' कार्यकारी निर्देशक भट्टले भने।
इथानोल मिसाइएपछि पेट्रोलको मूल्य पनि घट्ने अनुमान लगाइएको छ। तर सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करका आधारमा मूल्य निर्भर हुन्छ।
सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कर घटायो भने पेट्रोलको मूल्य घट्ने उनले बताए।
'पेट्रोलमा लिँदै आएको करमा इथानोलको हिस्सा घटाइदियो भने मूल्य स्वतः घट्छ,' उनले भने।
उनका अनुसार उद्योगीबाट लिएको इथानोललाई निगमले आफै पेट्रोलमा मिसाएर पम्पहरूमा पठाउने छ। त्यसपछि इथानोल मिसाएको पेट्रोल निर्धक्क भएर उपभोक्ताले प्रयोग गर्न सक्ने छन्।
'अहिले धेरैको इञ्जिनमा समस्या हुन्छ कि भन्ने चासो छ,' उनले भने, 'कुनै समस्या पार्दैन।'