डिजेल र मट्टीतेलको भाउ बढेको छ भने हवाई इन्धनको घटेको छ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढाएको हो।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाएको हो।
भारतबाट आएको नयाँ मूल्य सूचीसँग निगमले भाउ समायोजन गरेको हो।
निगमका अनुसार भारतबाट डिजेल र मट्टीतेलको भाउ लिटरमा ४.६६ रूपैयाँ, पेट्रोलको ०.१२ रूपैयाँ र खाना पकाउने एलपी ग्यासको प्रति सिलिन्डर ४५.४९ रूपैयाँ बढेर आएको छ। त्यस्तै हवाई इन्धनको प्रति लिटर १.०८ रूपैयाँ घटेर आएको छ।
तर हाल डिजेल र मट्टीतेलको भाउ मात्र बढाइएको निगमले जनाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल–मट्टीतेलको प्रतिलिटर १३६.५० रूपैयाँ पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा प्रतिलिटर १३८ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १३९ रूपैयाँ पर्नेछ।
हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर एक सय २८ रूपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर काठमाडौंमा अमेरिकी डलर ९६६, पोखरामा ७४५ र भैरहवामा ७३३ तोकेको छ।