तीन महिनादेखि फैलिएको बर्ड फ्लूका कारण किसानको एक अर्ब रूपैयाँभन्दा बढी लगानी नष्ट भएको छ।
११ जिल्लामा देखिएको यस रोगबाट प्रभावित किसानलाई सरकारले तत्कालका लागि ५२ करोड रूपैयाँ राहत उपलब्ध गराउने भएको छ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही दिनभित्रै पहिलो चरणमा किसानको खातामा राहत रकम पुग्ने गरी प्रक्रिया अघि बढाएको छ।
बर्ड फ्लूबाट प्रभावित किसानका लागि अर्थ मन्त्रालयले ५० करोड रूपैयाँ रकमान्तर स्वीकृत गरेको हो।
अर्थ मन्त्रालयले गत बिहीबार पीडित किसानलाई राहत उपलब्ध गराउन रकमान्तर स्वीकृत गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
'बर्ड फ्लूका कारण प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएका छौं। यसका लागि ५० करोड रूपैयाँ रकमान्तर भइसकेको छ,' मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले भने।
बर्ड फ्लू पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। नेपालमा यो रोग यो पटक २०८२ चैत ४ गते मोरङ जिल्लामा पुष्टि भएको थियो।
त्यसयता सरकारले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ९९ स्थानमा संक्रमण पुष्टि गरेको छ।
रोग नियन्त्रणका लागि सरकारले संक्रमित क्षेत्रका कुखुरा, अण्डा तथा दाना नष्ट गरेको छ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार हालसम्म ६ लाख ६ हजार ७५८ वटा कुखुरा, ९ लाख ९४ हजार ६४९ वटा अण्डा र १ लाख ९५ हजार ५९५ केजी दाना नष्ट गरिएको छ।
सरकारले नष्ट गरिएका सामग्रीको खरिद मूल्य (लागत) का आधारमा ७५ प्रतिशत राहत उपलब्ध गराउने व्यवस्था गरेको छ।
राहत वितरणका लागि प्रारम्भिक रूपमा अनुमान गरिएको रकम अपुग भएपछि थप ५० करोड रूपैयाँ रकमान्तर गरिएको हो।
विभागका अनुसार यस्ता आकस्मिक क्षतिको राहतका लागि विभागसँग सुरूमा दुई करोड रूपैयाँ मात्र बजेट थियो। उक्त रकम पर्याप्त नहुने भएपछि तत्कालका लागि ५० करोड रूपैयाँ रकमान्तर गरिएको हो।
यस हिसाबले सरकारले अहिले ५२ करोड रूपैयाँ राहत उपलब्ध गराउने भएको छ।
विभागका अनुसार राहत वितरण मोरङबाट सुरू गरिनेछ। हालसम्म ११ जिल्लाका १०० जना किसानले राहतका लागि आवश्यक कागजात बुझाइसकेका छन्।
'हामीले नष्ट गरिएको विवरण, राहत निवेदन, खरिद बिल तथा प्रयोगशाला (ल्याब) रिपोर्टलगायतका प्रमाण माग गरेका छौं। हालसम्म ११ जिल्लाका १०० किसानले आवश्यक कागजात उपलब्ध गराइसक्नुभएको छ। सुरूमा संक्रमण देखिएका क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर राहत वितरण गर्नेछौं,' विभागका वरिष्ठ पशु चिकित्सक तथा उपसचिव मुकुल उपाध्यायले भने।
उनका अनुसार ५२ करोड रूपैयाँ केही दिनभित्रै वितरण गरिनेछ। ६९ करोड रूपैयाँ बराबरको क्षति व्यहोरेका किसानले ५२ करोड रूपैयाँ राहत पाउनेछन्, किनभने सरकारले क्षतिको ७५ प्रतिशत मात्रै राहत दिने व्यवस्था गरेको छ।
विभागका अनुसार हाल उपलब्ध गराइएको रकमबाट आवश्यक राहतको करिब ७० प्रतिशत वितरण गर्न पुग्ने अनुमान गरिएको छ।
यस आधारमा हालसम्म एक अर्ब रूपैयाँभन्दा बढी मूल्य बराबरका प्रत्यक्ष सामग्री नष्ट भएको देखिएको छ।
विगतमा यस्तो राहत वितरण गर्न लामो समय लाग्ने भए पनि यसपटक तीन महिनामै राहत वितरण प्रक्रिया अघि बढाइएको विभागको दाबी छ।
जिल्लाबाट प्राप्त विवरण र किसानको पहिचानका आधारमा विभागले सिधैं किसानको बैंक खातामा रकम जम्मा गर्नेछ। अहिले राहत नपाउने किसानलाई आगामी आर्थिक वर्षको पहिलो महिनामै राहत उपलब्ध गराउने तयारी कृषि मन्त्रालयले गरेको छ।
कहाँ-कहाँ छ अहिले जोखिम?
पशुसेवा विभागका अनुसार हाल झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा बर्ड फ्लू नियन्त्रणमा आएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही स्थानमा भने प्रकोप अहिले पनि देखा परेको जनाइएको छ।
पशु सेवा विभागले प्रकोप रहेका क्षत्रका किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का सबै उपाय अनिवार्य रूपमा अपनाउन भनेको छ।
यसको लागि अण्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न र ढुवानीका साधन फार्मभित्र ल्याउनुपरेमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्रै भित्र्याउन निर्देशन दिइएको छ।
कागलगायत जंगलीपन्छी घरपालुवा पन्छीसँग सम्पर्कमा आउन नदिने गरी पन्छी पालन गर्न भनिएको छ।
पन्छीको दाना पनि जंगली पन्छीले खान नपाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।
पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न भनिएको छ।
विभागका अनुसार हाल प्रयोगशालामा बर्ड फ्लूसँगै लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानीखेत र इ. कोलाईलगायतका संक्रमण पनि धेरै पन्छीमा देखिएका छन्।
यी रोगका कारण पनि पन्छीको मृत्युदर उच्च हुन सक्ने भएकाले नियमित खोप लगाउन आग्रह गरिएको छ।
संक्रमण पुष्टि भएका फार्ममा मरेका पन्छी तत्काल गहिरो खाडलमा पुर्न, फार्म निःसंक्रमण गर्न र प्राविधिकको सल्लाहअनुसार आवश्यक नियन्त्रणका उपाय अपनाउन विभागले आग्रह गरेको छ।