रूपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन गरेको छ।
मुलुकको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवा कार्यालयलाई भन्सार विभागले गत आर्थिक वर्षका लागि १ खर्ब १३ अर्ब ६६ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये १ खर्ब ५ अर्ब २ करोड मात्र राजस्व संकलन भएको हो।
भन्सार विभागले तोकेको राजस्व संकलन हुन नसके पनि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भन्दा असुली दरमा सुधार भई १०.३३ प्रतिशतले वृद्धि भएको जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ९ अर्ब ३३ करोड राजस्व संकलन लक्ष्य तोकिएकोमा ९५ अर्ब १९ करोड मात्र संकलन भएको थियो।
भन्सार कार्यालयका तथ्यांक अनुसार पछिल्ला ८ वटा आर्थिक वर्ष २०७५/७६ देखि यता २०७७/७८ बाहेक कुनै पनि आर्थिक वर्षमा लक्ष्य पूरा हुन सकेको छैन।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले गत वर्षको साउन र चैत महिना बाहेक अरू महिनामा लक्ष्य पूरा गर्न नसकेको बताए।
रकमका हिसाबले साउन महिनामा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार र चैत महिनामा १० अर्ब ६७ करोड ९३ लाख १३ हजार राजस्व संकलन भएको छ।
त्यस्तै भदौमा ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार, असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार, कार्तिकमा ७ अर्ब ८९ करोड ९६ लाख ३९ हजार, मंसिरमा ८ अर्ब १ करोड ४५ लाख ५९ हजार र पुसमा ७ अर्ब २० करोड ५९ लाख ९७ हजार राजस्व संकलन भएको छ।
त्यस्तै माघ महिनामा ८ अर्ब ६७ करोड १३ लाख ८८ हजार, फागुनमा ८ अर्ब २६ करोड ७५ लाख ८७ हजार, वैशाखमा ८ अर्ब ८६ करोड ८४ लाख ७२ हजार, जेठमा ८ अर्ब ५३ करोड ४० लाख ७५ हजार र असारमा ९ अर्ब १२ करोड ७१ लाख ४२ हजार राजस्व संकलन भएको छ।
भन्सार कार्यालयका अनुसार गत वर्षमा सबैभन्दा बढी मोटरसाइकलबाट राजस्व संकलन भएको छ। कार्यालयका अनुसार सबै प्रकारका १ लाख ७८ हजार २१५ थान मोटरसाइकल आयात हुँदा २१ अर्ब ७६ करोड ४१ लाख २९ हजार रूपैयाँ राजस्व संकलन भएको छ।
यस्तै, ७ हजार १५९ थान जिप, कार र भ्यानबाट १३ अर्ब ९६ करोड ७ लाख ६५ हजार, २ हजार ४१२ थान सिंगल/डबल क्याप पिक अप गाडीबाट ४ अर्ब १८ करोड ४ लाख ८८ हजार राजस्व संकलन भएको छ।
गत वर्ष ७६ हजार ८ किलो लिटर पेट्रोल आयात हुँदा ४ अर्ब १२ करोड ३१ लाख १८ हजार, शुद्ध फलामबाट २ अर्ब २५ करोड ५६ लाख ११ हजार राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
गत वर्ष ३ लाख ६५ हजार ५ सय ३८ मेट्रिक टन शुद्ध फलाम यो नाकाबाट आयात भएको थियो। यस्तै ७६ हजार ४ सय ४० मेट्रिक टन एलपी ग्याँसबाट १ अर्ब ६१ करोड ९ लाख २३ हजार र मोबाइल टेलिफोनबाट १ अर्ब ६० करोड २३ लाख ६३ हजार राजस्व संकलन भएको छ। गत वर्ष भैरहवा भन्सार कार्यालय मार्फत २ लाख ५१ हजार २५४ थान मोबाइल आयात भएका थिए।
यसै गरी एमएस ब्लेड बिलेटबाट १ अर्ब ५७ करोड ९५ लाख २३ हजार, सुपारीबाट १ अर्ब ५७ करोड २ लाख ३८ हजार र कोइलाबाट १ अर्ब ४४ करोड ४ लाख ६२ हजार राजस्व संकलन भएको छ। गत वर्ष ६ हजार ४५ मेट्रिक टन सुपारी र ४ लाख ६६ हजार ३ सय ८९ मेट्रिक टन कोइला आयात भएको छ।
भन्सारका अनुसार यी वस्तुले मात्रै राजस्व संकलनमा करिब ५२ प्रतिशत योगदान दिएका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष टायल, विद्युतीय गाडी, चकलेट, चामल, अलकत्रा बिटुमिन, आलु, सुती कपडा लगायतको आयात घटेको भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार २०८२/२०८३ मा ३ खर्ब ४ अर्ब ५ करोड रूपैयाँ मूल्यका विभिन्न वस्तु भैरहवा नाका हुँदै आयात भएका छन्।
यो मूल्य अघिल्लो आर्थिक वर्ष २०८१/२०८२ भन्दा १५ दशमलव २८ प्रतिशतले बढी हो।
बेलहिया नाका हुँदै आयात हुने ९९ प्रतिशत भन्दा बढी सामान भारतबाटै आयात हुन्छन्। यस पटक चोरी पैठारीमा गरिएको कडाइले पनि राजस्व असुली दर केही सुधार भएको कार्यालय प्रमुख पौडेलले दाबी गरे।
त्यस्तै गत आर्थिक वर्षमा ३४ अर्ब ९८ करोड ३५ लाख मूल्यका विभिन्न वस्तु यो नाका हुँदै निर्यात भएका छन्।
निर्यात भएका वस्तु पनि अघिल्लो आर्थिक वर्ष २०८१/२०८२ भन्दा ६६.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष २० अर्ब ९५ करोड २६ लाखका विभिन्न वस्तु निर्यात भएका थिए। यस वर्ष यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने १० प्रकारका वस्तुमा भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, आलमिनियमका तार, खैरो सिमेन्ट, चाउचाउ, खयरको कत्था, फलाम वा स्टिलका भाँडाकुँडा, सूर्यमुखीको प्रशोधित तेल, प्लाइउड र चोकर भुस रहेका छन्।