नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई नेपाल–भियतनाम सम्बन्ध विस्तारमा योगदान पुर्याएको भन्दै भियतनामको परराष्ट्र मन्त्रालयले ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेको छ।
मन्त्रालयले नेपाल–भियतनामबीच व्यापार, पर्यटन, सांस्कृतिक सम्बन्ध र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरेको जनाएको छ। नेपालमा रहेका भियतनामी नागरिक र व्यवसायीलाई सहजीकरण गरेको योगदान पनि सम्मानको आधार बनाइएको छ।
सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङको हस्ताक्षर रहेको छ। सम्मानपत्रमा नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध सुदृढ बनाउन र भियतनामको वैदेशिक सेवामा योगदान पुर्याएको उल्लेख गरिएको छ।
सम्मानपछि श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँदिल्लीस्थित भियतनाम दूतावास र अन्य सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन्। उनले नेपाल–भियतनाम सहकार्यलाई थप प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता पनि जनाए।
यस अवसरमा श्रेष्ठले नेपाल र भियतनामबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिए। सिधा उडानले बौद्ध पर्यटन, व्यापार, लगानी र सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।
नेपाल बुद्धको जन्मस्थल र भियतनाम ठूलो बौद्ध समुदाय भएको मुलुक भएकाले धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन प्रत्यक्ष हवाई सम्पर्क आवश्यक रहेको उनले बताए।
उनले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गरे। सिधा उडान सञ्चालन भए धार्मिक पर्यटनसँगै शैक्षिक, सांस्कृतिक र व्यावसायिक सहकार्य पनि विस्तार हुने विश्वास उनले व्यक्त गरे।
श्रेष्ठले सूचना प्रविधि, पर्यटन, शिक्षा, सेवा, उत्पादन, कृषि, खाद्य प्रशोधन, पूर्वाधार, नवीकरणीय ऊर्जा, खानी तथा खनिज र लगानीका क्षेत्रमा पनि नेपाल र भियतनामबीच सहकार्य विस्तार गर्न सकिने बताए।