विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबिच पाँचवर्षे रणनीतिक साझेदारी भएको छ।
सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको मुख्य प्रायोजक तथा अफिसियल होम अप्लायन्सेस पार्टनर बनेको हो।
सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा आएको कम्पनीले जनाएको छ।
एफसी बार्सिलोनाले सन् २०२६/२७ सिजनका लागि सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक देखिएको बताइएको छ।
क्लबको परम्परागत नीलो र गाढा रातो पहिचानलाई आधुनिक स्वरूपमा प्रस्तुत गरिएको नयाँ जर्सीले बार्सिलोनाको इतिहास, ऊर्जा र भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ ।
आगामी पाँच सिजनसम्म माइडिया र एफसी बार्सिलोनाले संयुक्त सामग्री निर्माण, खेलदिवस सञ्चार, समर्थक सहभागिता तथा विभिन्न बजारअनुकूल गतिविधिमार्फत विश्वभरका उपभोक्ता र फुटबल समर्थकसँग जोडिनेछन् ।
खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा जोड्नु यस सहकार्यको प्रमुख उद्देश्य रहेको माइडियाले जनाएको छ।
एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता भविष्यतर्फ हेर्ने बार्सिलोनाको सोचसँग मेल खाने बताएका छन् ।
माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले पनि विश्वकै सफल तथा लोकप्रिय खेल संस्थामध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु उत्साहजनक भएको बताए।
माइडिया र एफसी बार्सिलोनाबिचको यो साझेदारीले नेपाली फुटबल समर्थकलाई समेत ब्रान्डसँग भावनात्मक रूपमा जोड्ने नयाँ अवसर सिर्जना गरेको बताइएको छ।
यस सहकार्यले माइडियाको विश्वव्यापी ब्रान्ड पहिचानलाई थप सुदृढ बनाउनुका साथै नेपाली उपभोक्तामाझ स्मार्ट, आधुनिक र सुविधाजनक जीवनशैलीसँग जोडिएको ब्रान्डका रूपमा माइडियाको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।