नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थान (डिडिसी) बीच दूध खरिद–बिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता (एमओयु) भएको छ।
डिडिसीको लैनचौरस्थित कार्यालयमा भएको सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय संघ र साना किसान विकास लघुवित्तका साझेदार दुग्ध उत्पादक सहकारी संस्था तथा सदस्य किसानले दैनिक १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउने समझदारी भएको छ।
सम्झौतामा आगामी दिनमा दैनिक ६० हजार लिटर दूध उपलब्ध गराउने विषय पनि बताइएको छ।
सम्झौताअनुसार डिडिसीले यी दुई संस्थाको सञ्जालमार्फत यसअघि खरिद गरेको दूधको बाँकी रकम एक महिनाभित्र भुक्तानी गर्नुपर्नेछ।
दूधको मात्रा र गुणस्तर सुरुवाती संकलन केन्द्रमै मापन गरिएको आधारमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
दूधको कन्भर्जनको व्यवस्था पनि गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
सम्झौतापछि डिडिसीका महाप्रबन्धक डा. सरनकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनमा सम्झौताले सहकार्यको आधार तयार गरेको बताए।
उनले साना किसान कृषि सहकारी संस्थाले सहकारीको मूलमर्मअनुसार गरेको कामलाई डिडिसीसँग जोडेर अघि बढ्ने बताए।
दूध संकलन र बजारीकरणसँगै पशुपालन तथा दूध उत्पादनका क्षेत्रमा पनि काम गर्ने उनले बताए।
डिडिसीमा विगतमा देखिएका भुक्तानीलगायतका समस्या दोहोरिन नदिने उनले बताए।
नियमित भुक्तानीको व्यवस्था गरेर अघि बढ्ने उनले बताए।
साझा प्रयासबाट किसानको जीवनस्तर र आर्थिक अवस्थामा सुधार ल्याउन सकिने उनले बताए।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले किसानको आयआर्जन, उत्पादन र आत्मनिर्भरता बढाउन सम्झौताले सहयोग गर्ने बताए।
सरकारले अघि बढाएका नीति तथा कार्यक्रममा आफूहरूले विगतदेखि सहकार्य गर्दै आएको उनले बताए।
डिडिसीलाई सुधार गर्न किसान तहबाट पनि सहयोग आवश्यक रहेको उनले बताए।
दूधमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार अघि बढ्ने उनले बताए।
डिडिसीप्रतिको विगतको धारणा परिवर्तन गर्दै सुधारको प्रक्रिया सुरू भएको उनले बताए।
किसानलाई नयाँ पहलमा जोडिन उनले आग्रह गरे।
कुनै कमजोरी देखिए सुधारका लागि सुझाव दिन उनले आग्रह गरे।
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले सम्झौताले दुग्ध उत्पादक किसानलाई दूध बिक्रीको बजार उपलब्ध गराउने बताए।
केन्द्रीय संघको सञ्जालमा रहेका संस्थाले अहिले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको उनले जानकारी दिए।
उत्पादन बढाउँदै लैजाने विषयमा सम्झौताले सहयोग गर्ने उनले बताए।
तत्कालका लागि दैनिक १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउने सम्झौता भएको उनले बताए।
दूध बिक्री गरेबापतको रकम समयमै प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले बताए।