देशभरि एलपी ग्यासको अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।
महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले विक्रेता तथा डिलरलाई पन्छाएर उद्योग र बिक्री केन्द्रबाट ग्यास बिक्री गर्दा समस्या झन् जटिल बनेको बताए।
यसले उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको उनको भनाइ छ।
महासंघले एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कोतिर अनुगमनका नाममा दुःख दिने सरकारी रवैयाले बजार भद्रगोल बनेको जनाएको छ।
महासंघले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट हुने बिक्री रोक्न माग गरेको छ। ग्यासको वितरण विक्रेता तथा डिलरमार्फत मात्रै गर्नुपर्ने उसको भनाइ छ।
महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको छ।
बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर रहेकाले पनि समस्या बढेको महासंघको दाबी छ।
अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासंघले तत्काल नियन्त्रण गर्न माग गरेको छ।
यसलाई नियन्त्रण नगरे आगामी वर्षमा ग्यास अभाव झन् विकराल बन्ने चेतावनी महासंघले दिएको छ।
नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारले वास्तविक समस्या समाधान गर्नुभन्दा अनावश्यक प्रचारबाजी मात्र गरिरहेको आरोप पनि महासंघले लगाएको छ।