बजारमा कुखुराको मासुको मूल्य बढेको छ।
हाल कुखुराको मासु प्रतिकिलो चार सय रूपैयाँमा बिक्री भइरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए।
'मूल्य बढेको एक साता भयो,' उनले भने।
उनका अनुसार यसअघि कुखुराको मासु प्रतिकिलो ३ सय ८० रूपैयाँमा बिक्री हुँदै आएको थियो।
एक सातायता प्रतिकिलो २० रूपैयाँ बढको हो।
बजारमा कुखुराको उत्पादन घटेकाले मासुको मूल्य बढेको उनको भनाइ छ।
केही समयअघि कुखुरामा बर्डफ्लु देखिएको थियो।
बर्डफ्लुका कारण कुखुरा नष्ट भएपछि त्यसको ठाउँमा नयाँ उत्पादन हुन सकेको छैन। यसले बजारमा उपलब्ध कुखुराको संख्या घटाएको छ।
पछिल्लो समय बाढीपहिरोका कारण पनि किसानले कुखुरा उत्पादन गर्न नसकेको उनले बताए।
बाढीपहिरोका कारण किसानको उत्पादन प्रभावित भएकाले पनि बजारमा कुखुराको आपूर्तिमा कमी आइ मूल्य बढेको हो।
'एकातिर बर्डफ्लुका कारण कुखुरा नष्ट भए, त्यसपछि नयाँ उत्पादन हुन सकेन,' बिसीले भने, 'त्यसलगत्तै बाढीपहिरोले पनि उत्पादनमा असर पाऱ्यो।
कुखुराको उत्पादन घट्दै गएपछि त्यसको असर मासुको मूल्यमा देखिएको हो।
उत्पादन सहज नभएसम्म मूल्य पनि तत्काल पुरानै अवस्थामा फर्किन नसक्ने उनको भनाइ छ।