राइड सेयरिङ एप पठाओले राइडर तथा क्याप्टेनहरूका लागि सब्स्क्रिब्सन मोडल लागू गर्ने घोषणा गरेको छ।
पठाओले कमिसनमा आधारित आम्दानी प्रणालीलाई परिवर्तन गर्दै सब्स्क्रिप्सनमा आधारित प्रणाली लागू गर्ने घोषणा गरेको हो।
नयाँ व्यवस्थाअनुसार पठाओ क्याप्टेनले प्रत्येक राइडको आम्दानीबाट प्रतिशतका आधारमा कमिसन बुझाउनुपर्ने छैन।
पठाओका अनुसार कमिसनको सट्टा अव राइडर तथा पठाओ क्याप्टेनहरुले दैनिक, साप्ताहिक वा मासिक निश्चित सब्स्क्रिप्सन शुल्क तिरेर राइड गर्न सक्नेछन्।
पठाओका अनुसार कारका लागि सब्स्क्रिप्सन शुल्क २४ घण्टाका लागि १४९ रूपैयाँ, ७ दिनका लागि ६९९ रूपैयाँ र ३० दिनका लागि २ हजार २९९ रूपैयाँ तोकिएको छ।
त्यस्तै, बाइकका लागि २४ घण्टाको ४९ रूपैयाँ, ७ दिनको २९९ रूपैयाँ र ३० दिनको ९ हजार ९९८ रूपैयाँ शुल्क तोकिएको छ।
'उचित दर, मेहेनतको कदर' भन्ने नारासहित आफ्नो ८औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक भएको यो अफरको सब्स्क्रिब्सन प्याकेज राइडर तथा पठाओ क्याप्टेनले पठाओ ड्राइभ एपबाट खरिद गर्न सक्नेछन्।
ग्राहकले तिर्ने राइड भाडामा लाग्ने ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस भने यथावत रहनेछ।
यी करसम्बन्धी रकम सब्स्क्रिप्सन शुल्कभन्दा छुट्टै रूपमा ड्राइभरको दायित्वमा रहने पठाओले जनाएको छ।
पठाओले ल्याएको यस्तो सुविधाले राइडरहरु लाभान्वित हुने विश्वास पठाओले लिएको छ।
विभिन्न राइड सेयरिङ प्लेटफर्मका राइडर तथा क्याप्टेनहरूले न्यून भाडादरको विषयमा आवाज उठाइरहेका बेला पठाओले ल्याएको यस्तो सुविधालाई अर्थपूर्ण रूपमा हेरिएको बताइएको छ।
यसअघि राइडरहरूले उठाउँदै आएको २५ प्रतिकिलोमिटरको मागप्रति पनि पठाओले सकारात्मक धारणा सार्वजनिक गरिसकेको छ।
यद्यपि पठाओले स्वच्छ प्रतिस्पर्धाका लागि सबै राइड सेयरिङ प्लेटफर्ममा समान भाडादर लागु हुने गरी सरकारले स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरेको छ।