इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।
आइओसीले बुधबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोल प्रतिलिटर २० रूपैयाँ ४४ पैसा र डिजेल २० रूपैयाँ २१ पैसा बढाएर पठाएको छ।
त्यस्तै मट्टितेल प्रतिलिटर १५ रूपैयाँ ९६ पैसा खाना पकाउने ग्यास प्रतिसिलिन्डर ८१ रूपैयाँ ३२ पैसा बढाएर पठाएको हो। हवाइ इन्धन प्रतिलिटर १८ रूपैयाँ ६६ पैसा बढाएर पठाएको छ।
भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत रहने निगमले जनाएको छ।
भोटेकोशी बाढी, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिको बुधबारको बैठकले मूल्य हालकै कायम राख्ने निर्णय गरेको हो।
हाल निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ १९७ रूपैयाँ ५० पैसा प्रतिलिटर छ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ १९९ रूपैयाँ छ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ २०० रूपैयाँ छ।
खाना पकाउने ग्यासको भाउ देशभर २ हजार ६० रूपैयाँ छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।
