स्वदेशी मदिरा उद्योगीको व्यापक गुनासोपछि सरकारले मदिराको आयातमा लगाएका करका दरहरू एकै दिनमा परिवर्तन गरेको छ।
जेठ १५ गते बजेट भाषणसँगै ल्याइएको आर्थिक विधेयकमा मदिरा आयात गर्ने क्रममा सबैलाई आयातीत मूल्यको १०० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको थियो।
यो नीति अनुसार आयातीत मदिरामा बढी मूल्यको थप महँगो हुने र कम मूल्यको थप सस्तो हुने हुन्थ्यो।
मानौं, पाँच सय रूपैयाँको मदिरा आयात भएको छ भने पाँच सय रूपैयाँ नै र दस हजार रूपैयाँको छ भने १० हजार रूपैयाँ नै भन्सार लाग्ने गरी करका दरहरू परिवर्तन गरिएको थियो।
साविकमा (वाइन र बियर बाहेक) जुनसुकै मूल्यको मदिरा आयात गर्दा प्रतिलिटर २ हजार रूपैयाँ भन्सार लाग्थ्यो।
तर २०८२/८३ का लागि ल्याइएको आर्थिक अध्यादेशले मदिरा (वाइन र बियर बाहेक) मा आयात मूल्यको आधारमा शत प्रतिशत कर लगाउने गरी दर परिवर्तन गरेको थियो।
यस लगत्तै स्वेदशी मदिरा उत्पादकहरूले अर्थका अधिकारी र अर्थमन्त्रीलाई भेटेर आत्मनिर्भर उन्मुख स्वदेशी मदिरा उद्योग संकटमा पर्ने गुनासो राखेका थिए। कम मूल्यका आयातीत मदिरा सस्तो हुने भएपछि स्वदेशीको बजारमा असर पर्ने उनीहरूले बताएका थिए।
त्यसपछि अर्थमन्त्री लगायत बजेटमा सक्रिय अर्थको टिम छलफलमा बसेको थियो। छलफलपछि टिमले बजेटमा 'टाइपो मिस्टेक' भएको प्रतिक्रिया दिएको थियो। अनि सस्तो मदिरामा साविककै कर दर (प्रतिलिटर दुई हजार रूपैयाँ) लागू हुने जानकारी गराएको थियो।
अब भने दुई हजार रूपैयाँभन्दा कम मूल्य र योभन्दा बढी मूल्यमा फरक फरक भन्सार लाग्ने भएको छ।
दुई हजार रूपैयाँसम्म पर्ने मदिरा (वाइन/बियर बाहेक) मा पहिलेजस्तै प्रतिलिटर दुई हजार रूपैयाँ भन्सार लाग्ने भएको छ।
त्यस्तै योभन्दा धेरै मूल्यकोमा भने आयातीत मूल्यको आधारमा १०० प्रतिशत भन्सार लाग्ने भएको छ। अर्थात् २१ सय रूपैयाँको मदिरा छ भने सय प्रतिशतको दरमा भन्सार लाग्नेछ।
'हामीले निर्णय नसच्याए स्वदेशी उद्योगलाई समस्या नै पर्ने रहेछ। प्रतिशतका आधारमा महँगो मदिरा उत्पादकलाई लाभ भए पनि सस्तो संकटमा पर्ने भएपछि तत्काल सच्याएका हौं,' अर्थका एक अधिकारीले भने, 'भारतबाट ३०० रूपैयाँ लिटरका मदिरा आउँदा रहेछन्। यस्तो मदिरामा भन्सार कम हुँदा स्वदेशी उद्योगी संकटमा पर्ने देखियो। आयातीत सस्ता मदिराले स्वास्थ्यमा हानि पुर्याउने पनि देखिएको छ।'
यसरी सरकारले मदिरा (वाइन र बियरबाहेक) मा साविककै जस्तो न्यूनतम प्रतिलिटर दुई हजार रूपैयाँ भन्सार कायम गरेको हो। यसले दुई हजार रूपैयाँभन्दा कम आयात मूल्य भएका मदिराको भाउ कम नहुने भएको हो।

दुई हजार रूपैयाँभन्दा बढी मूल्य पर्ने मदिरामा आयात मूल्यको १०० प्रतिशत भन्सार कायम छ। यसो हुँदा महँगो मदिराको मूल्य भने उल्लेख्य बढ्ने भएको छ।
अर्थका अधिकारीहरूले उद्योगीहरूलाई 'टाइपो मिस्टेक' भने पनि बजेटमा सबै मदिरामा प्रतिशतका आधारमै कर लगाउने निर्णय आपसी छलफलका आधारमा गरिएको थियो।
'यसपालिबाट समाजवादी नीति लिइएको छ। महँगो खानेलाई थप महँगो हुने भयो सस्तो खानेलाई मूल्य घट्छ,' अर्थका एक अधिकारीले जेठ १५ गते साँझ सेतोपाटीसँग भनेका थिए।
त्यस्तै वाइन आयातमा लिटरमा न्यूनतम तीन सय रूपैयाँ भन्सार लाग्नेछ। ८० प्रतिशत भन्सार लगाउँदा तीन सय रूपैयाँभन्दा कम हुने वाइनमा पनि तीन सय रूपैयाँ नै भन्सार लाग्नेछ। तीन सय रूपैयाँभन्दा बढी हुनेमा लिटरको ८० प्रतिशतका आधारमा भन्सार लाग्नेछ। यसअघि सबै वाइनमा लिटरको दुई सय रूपैयाँ लाग्थ्यो।
बियरको पनि आयातमा लिटरमा न्यूनतम दुई सय रूपैयाँ भन्सार लाग्नेछ। ८० प्रतिशत भन्सार लगाउँदा दुई सय रूपैयाँभन्दा कम हुने बियरमा पनि दुई सय रूपैयाँ नै भन्सार लाग्नेछ। दुई सय रूपैयाँभन्दा बढी हुनेमा लिटरको ८० प्रतिशतका आधारमा भन्सार लाग्नेछ। यसअघि सबै बियरमा लिटरको दुई सय रूपैयाँ लाग्थ्यो।
यो पनि:
मदिरामा नयाँ नियम, महँगो मदिराको मूल्य अत्यधिक बढ्ने