पछिल्लो आर्थिक वर्ष (२०८१/८२) मा नेपालको निर्यात व्यापारमा उछाल आएको छ। ऐतिहासिक वृद्धिदर देखिएको छ।
एकै वर्षमा दुई खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेशी बजारमा बिक्री भएको हो। आर्थिक वर्ष २०८०/०८१ मा एक खर्ब ५२ अर्ब रूपैयाँ बराबरको मात्रै बिक्री भएको थियो। पछिल्लो वर्षमा निर्यात वृद्धिदर करिब ८२ प्रतिशतको छ।
विगतमा कुनै पनि आर्थिक वर्षमा नदेखिएको निर्यात वृद्धिदर पछिल्लो वर्षमा देखिएको हो। उपलब्ध भन्सार तथ्यांकअनुसार आर्थिक वर्ष २०३१/०३२ यता आर्थिक वर्ष २०४०/४१ मा ५० प्रतिशत र त्यसपछिको आर्थिक वर्षमा ६० प्रतिशतको निर्यात वृद्धिदर पुगेको थियो।
रकमका आधारमा यसअघि आर्थिक वर्ष २०७८/७९ मा दुई खर्ब रुपैयाँ पुगेको थियो। त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः २१ र ३ प्रतिशतले निर्यात घटेको थियो।
तर, यो आर्थिक वर्षमा भने उछाल देखिएको हो। आर्थिक वर्ष २०८०/८१ भर औसत रूफमा १३ अर्ब ६६ करोड रूपैयाको मासिक निर्यात भएको थियो। पछिल्लो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८१/८२ मा भने मासिक औसत २३ अर्ब ८ करोड बढीको निर्यात भएको छ। २०८१ फागुन महिना देखियता भने हरेक महिना ३० अर्ब बढीको वस्तु निर्यात भएको छ।
महिनागत निर्यातको तथ्यांक
-1753149009.jpg)
यसरी अत्यधिक निर्यात बढ्नुमा भटमासको तेलको हिस्सा धेरै छ। पछिल्लो वर्ष भएको निर्यातमा ३८ प्रतिशत बढी हिस्सा प्रशोधित भटमासको तेलको छ। यो अवधिमा एक खर्ब ६ अर्ब रूपैयाँको यस्तो तेल निर्यात भएको छ। आर्थिक वर्ष २०८०/८१ मा ९० करोड रूपैयाँ बराबरको मात्रै निर्यात भएको थियो।
भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट किनिएको छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ। पछिल्लो वर्षमा एक खर्ब ८ अर्ब रूपैयाँ बराबरको कच्चा तेल आयात गरिएको छ।
गत भदौमा भारतले खाने तेलको आयातमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएको थियो। यसले अन्य राष्ट्रबाट भारतमा जाने तेल महँगो भएको थियो। तर, नेपाल-भारतको वाणिज्य सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने यस्तो तेललाई भन्साररहित सुविधा छ। आयात गरिएको कच्चा पदार्थको हकमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्छ।
यसले मासिक १६ अर्ब रूपैयाँ बराबरको निर्यात पुगेको थियो। २०८२ जेठमा भारतले तेस्रो मुलुकबाट निर्यात आयात हुने भटमासको तेलको भन्सार घटाएसँगै मासिक निर्यातमा केही कमी आएको छ। असार महिनामा ११ अर्ब रूपैयाँ बराबरको भटमासको तेलको निर्यात भएको छ। यद्यपि असार महिनामा भएको निर्यातमा पनि ३६ प्रतिशत हिस्सा भटमासको तेलको नै छ।
भटमाससँगै सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रशोधित सूर्यमुखी तेलको निर्यात १२ अर्ब ३२ करोड रुपैयाँको भएको छ। आर्थिक वर्ष २०८१/८२ मा ३६ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो।
सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेनलगायतका देशबाट किनिन्छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिन्छ।
भटमास र सूर्यमुखीको निर्यात उल्लेख्य बढ्दा विगतका वर्षमा सबैभन्दा बढी निर्यात हुने पाम तेलको निर्यात यो वर्ष घटेको छ। व्यवसायीहरूका अनुसार भन्सार दरबन्दीको परिभाषामा देखिएको विवादका कारण पाम तेलको निर्यात कम भएको हो। अहिले मौजुद रहेको पाम तेलको पनि निर्यात हुन नसकेको उनीहरूको गुनासो छ। यो वर्ष दुई अर्ब ४१ करोडको मात्र पाम तेल निर्यात भएको छ।
पछिल्लो वर्ष वनस्पति तेलपछि धागो निर्यात पनि उल्लेख्य बढेको छ। एक वर्षको अवधिमा धागोको निर्यात २२ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड रूपैयाँ बराबरको पुगेको छ।
नेपाली कच्चा पदार्थमा आधारित भेनियर सिट, जुटबाट बुनिएका कपडा, कुकुर बिरालोको खाना, चिया लगायतको निर्यात पनि यो वर्ष बढेको छ।
पछिल्लो वर्षमा जुटबाट बुनिएका कपडा ६ अर्ब ३० करोड, भेनियर सिट २ अर्ब ६ करोड, कुकुर बिरालोको खाना ४ अर्ब ५१ करोड र चिया ४ अर्ब ५९ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट निर्माणजन्य सामग्रीको निर्यात अत्यधिक थियो। पछिलो वर्ष भने यस्ता वस्तुको निर्यात निकै घटेको छ।