गत आर्थिक वर्ष २०८१/०८२ मा रूपन्देहीको बेलहिया नाकाबाट हुने निर्यातमा वृद्धि भएको छ।
भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भन्दा गत आर्थिक वर्षमा ५२.९९ प्रतिशतले निर्यात बढेको हो।
अघिल्लो वर्ष १३ अर्ब ६८ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएकोमा गत आर्थिक वर्षमा झन्डै २१ अर्ब (२० अर्ब ९२ करोड २३ लाख ५६ हजार) रूपैयाँ बराबरका वस्तु निर्यात भएको भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए।
वस्तु निर्यातबाटै भन्सार कार्यालयले गत वर्ष ६ करोड ७८ लाख ७९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
गत वर्ष सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।
कुल ६ अर्ब ९८ करोड १७ लाख ७५ हजार मूल्यको ३ करोड ५१ लाख ६९ हजार ३४१ किलोग्राम भटमासको तेल निर्यात भएको हो।
गत वर्ष ३ अर्ब ४९ करोड ९२ लाख ६४ हजार मूल्यको सेन्थेटिक यार्न, १ अर्ब ४७ करोड ८ लाख ३७ हजारको खैरो सिमेन्ट, ९४ करोड २२ लाख ७७ हजार रूपैयाँको खयर कत्था, ८३ करोड ४३ लाख १५ हजारको पिना, ७३ करोड ६२ लाख ५८ हजार रूपैयाँको फलाम र स्टिलको भाँडा निर्यात भएको छ।
त्यस्तै, ७२ करोड २५ लाख ७५ हजारको चाउचाउ, ६५ करोड ६२ लाख ५७ हजारको जडीबुटी, ५२ करोड ५२ लाख ३ हजारको खोटो र ५१ करोड ५४ लाख २३ हजार रूपैयाँको प्लाइउड निर्यात भएको छ।
अघिल्ला वर्षभन्दा गत वर्ष निर्यातमा राम्रो सुधार भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।
गत वर्ष भन्सार विभागले बेलहिया भन्सार कार्यालयलाई दिएको लक्ष्य अनुरूपको राजस्व संकलन नभएपछि अघिल्लो वर्षभन्दा राजस्व संकलनमा पनि सुधार भएको छ।
भन्सार विभागले अघिल्लो वर्ष १ खर्ब २७ अर्ब ८४ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा जम्मा ६३.२४ प्रतिशत अर्थात् ८० अर्ब ८४ करोड मात्र राजस्व संकलन भयो। त्यसैले गत वर्ष १४.४८ प्रतिशत घटाएर १ खर्ब ९ अर्ब ३३ करोड राजस्व संकलनको लक्ष्य तोकेको थियो।
गत वर्ष पनि भन्सार विभागले तोकेको लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो वर्षभन्दा राजस्व संकलनमा भने वृद्धि भएको जनाएको छ।
प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार बेलहिया भन्सार कार्यालयबाट गत वर्ष ९५ अर्ब १९ करोड रूपैयाँ संकलन भएको छ। यो तोकिएको लक्ष्यको ८७.०७ प्रतिशत हो।
गत वर्ष २ खर्ब ६३ अर्ब ८२ करोडका विभिन्न वस्तु आयात गर्दा उक्त राजस्व संकलन भएको हो।
गत वर्ष धेरै राजस्व संकलन हुने मुख्य १० वस्तुमा मोटरसाइकल, जिप, कार र भ्यान, पेट्रोल, विद्युतीय गाडी, डबल क्याप पिक अप गाडी, शुद्ध फलाम, मोबाइल टेलिफोन, एमएस विलेट, चकलेट र एल पी ग्यास छन्।
यी १० वटा वस्तुबाट मात्रै कुल राजस्वको ४७.१५ प्रतिशत अर्थात् ४४ अर्ब ८८ करोड ५३ लाख २७ हजार रकम संकलन भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।
रेग्मीका अनुसार गत वर्ष सबैभन्दा बढी मोटरसाइकल आयातबाट १७ अर्ब २१ करोड २१ लाख २७ हजार राजस्व संकलन भएको छ। गत वर्ष बेलहिया नाकाबाट १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजार मूल्यका १ लाख ४४ हजार १९४ थान मोटरसाइकल आयात भएका थिए।
त्यस्तै, ४ अर्ब १५ करोड १५ लाख ३८ हजार मूल्यका ३ हजार ७६१ थान जिप, कार र भ्यानबाट १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार राजस्व संकलन भएको छ।
गत वर्ष बेलहिया नाकाबाट ६ अर्ब ८ करोड ९१ लाख १९ हजार मूल्यको ७० हजार किलोलिटर पेट्रोल आयात हुँदा ३ अर्ब ९७ करोड १५ लाख ६८ हजार राजस्व संकलन भएको छ।
त्यस्तै, विद्युतीय गाडीबाट ३ अर्ब २३ करोड ३७ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन भएको छ। डबल क्याप पिकअप गाडीबाट १ अर्ब ९१ करोड ६४ लाख ३७ हजार, शुद्ध फलामबाट १ अर्ब ८९ करोड ९७ लाख ५१ हजार र मोबाइल टेलिफोनबाट १ अर्ब ८१ करोड ८६ लाख ३४ हजार रूपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी एमएस बिलेटबाट १ अर्ब ५९ करोड ७ लाख १७ हजार, चकलेट आयातबाट १ अर्ब ४७ करोड ५५ लाख ६६ हजार र एलपी ग्यासको आयातबाट १ अर्ब ४३ करोड १९ लाख ४७ हजार राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए।
भन्सार कार्यालयका अनुसार मोटरसाइकल, जिप कार र भ्यान, विद्युतीय गाडी, डबल क्याप पिकअप गाडी, शुद्ध फलाम, पोलिथिन दाना, पेट्रोल, माइक्रो बस, चकलेट र चामलको आयातमा अघिल्लो वर्ष भन्दा गत वर्ष वृद्धि भएको छ।
गत वर्ष चामल आयातबाट अघिल्लो वर्षभन्दा १९७.०१ प्रतिशत बढी राजस्व संकलन भएको छ। अघिल्लो वर्ष ८९ करोड ७२ लाख ८७ हजार मूल्यको चामल आयात भएकोमा गत वर्ष २ अर्ब ६५ करोड १६ लाख ५० हजार मूल्यको चामल आयात भएको हो।
चामल आयातबाट अघिल्लो वर्ष १० करोड ३२ लाख ८३ हजार राजस्व संकलन भएको थियो भने गत वर्ष ३० करोड ६७ लाख ५७ हजार राजस्व संकलन भएको छ।
अघिल्लो वर्ष १० अर्ब २० करोड २८ लाख ३५ हजार मूल्यका ९२ हजार ६३५ थान मोटरसाइकल आयात भएकोमा गत वर्ष १० अर्ब ७६ करोड ८९ लाख ५४ हजार मूल्यका १ लाख ४४ हजार १९४ थान मोटरसाइकल आयात भएका छन्। मोटरसाइकल आयातबाट अघिल्लो वर्षभन्दा गत वर्ष ५९.८३ प्रतिशत बढी राजस्व संकलन भएको छ।
अघिल्लो वर्ष २ अर्ब ७४ करोड १३ लाख ५० हजार मूल्यका जिप, कार र भ्यान आयात भएकोमा गत वर्ष ४ अर्ब १५ करोड १५ लाख ३८ हजार मूल्यका आयात भएका हुन्। जुन ४७.०१ प्रतिशत बढी हो।
गत वर्ष विद्युतीय गाडीबाट ६१.२१ प्रतिशत, डबल क्याप पिक अप गाडीबाट १०५.१२ प्रतिशत, शुद्ध फलामबाट ३०.६५ प्रतिशत, पोलिथिन दानाबाट २६.२४ प्रतिशत, माइक्रो बसबाट २२७.७१ प्रतिशत र पेट्रोल आयातबाट ७ प्रतिशत बढी राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार गत वर्ष डिजेल, टायल, पिकअप गाडी, मार्बल स्ल्याब, गुलियो हालेको र धुलो दूध, एल पी ग्यास, ट्रक/मिनी ट्रक, आलमिनियम तार र चुइंगमको आयात घटेको छ। बेलहिया नाकाबाट गत वर्ष गहुँको आयात शून्य छ। अघिल्लो वर्ष २ अर्ब ९४ करोड ४९ लाख ८९ हजारको गहुँ आयात भएकोमा गत वर्ष आयात शून्य भएको हो।
गत वर्ष डिजेल आयातबाट ९७.६३ प्रतिशत, टायलबाट ४३.७६ प्रतिशत, पिक अप गाडी ४६.४२ प्रतिशत, मार्बल स्ल्याब ३८.२३ प्रतिशत, गुलियो हालेको र धुलो दूध ६१.११ प्रतिशत, एलपी ग्यास १७.९१ प्रतिशत, आलमिनियम तार ६२.२७ प्रतिशत, चुहिगम ६१.९१ प्रतिशत र ट्रक/ मिनी ट्रकको आयातबाट हुने राजस्व संकलनमा ३५.४३ प्रतिशतले कमी आएको छ।