नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडकाबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने समझदारी भएको छ।
ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्टमा नवीकरणीय स्रोतबाट हाइड्रोजन बनाएर, त्यसलाई फ्युल सेल मार्फत स्वच्छ बिजुली वा इन्धनमा रूपान्तरण गरिन्छ।
समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमूख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरेका छन्।
प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको १० महिना भित्रमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेर लगानी बोर्डमा पेश गर्नेछ।
नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदुत पार्क ताए योङले नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको बताउँदै यी परियोजनाहरूले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्य प्राप्तीमा कोशेढुंगा साबित हुने बताए।
उनले यसले नेपाल र दक्षिण कोरिया बीचको द्विपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास समेत गरे।
बोर्डका प्रमूख कार्यकारी अधिकृत ज्ञवालीले यस प्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाहरुले नेपाल जस्तो राष्ट्रमा पूँजी तथा प्रविधीको विनिमयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले प्रस्तावक कम्पनीले तोकिएको समयमै गुणस्तरीय प्रतिवेदन पेश गर्ने विश्वास राख्दै नेपालमा छिट्टै ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिकनिजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि मिति २०८२ वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेश गरेको थियो।
लगानी बोर्डको ६३औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो।