सरकारले भदौ २३ र २४ मा भएको प्रदर्शनबाट निजी क्षेत्रमा पुगेको क्षतिको सम्बोधन गर्न 'एकीकृत व्यवसायिक पुनरूत्थान योजना' ल्याउने भएको छ।
अर्थमन्त्री रामेश्वर खनालले मंगलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा यो जानकारी गराएका हुन्।
उनले उद्योग व्यवसायीका समस्यालाई सरकारले पनि आफ्नो समस्याको रूपमा लिएको र यसबाट बाहिर निस्कन यो योजना प्रभावकारी हुने बताए।
अर्थमन्त्री खनालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायतका संघसंस्था तथा चौधरी ग्रुप र भाटभटेनी ग्रुपसमेतका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका थिए।
छलफलमा उनीहरूले उद्योग व्यवसायको सुरक्षा, प्रवर्द्धन र लगानी प्रोत्साहनका लागि सरकारबाट विश्वस्त हुने वातावरणको अपेक्षा राखेको बताए।
निजी क्षेत्रले क्षतिको सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बीमा रकम यथाशीघ्र भुक्तानीको व्यवस्था गर्न माग गरेका थिए।
साथै, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने विषय पनि उठेको थियो।
अर्थसचिव घनश्याम उपाध्यायले दसैं बाहेकका सार्वजनिक बिदामा पनि बैंक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध भएको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्रयास गरिरहेको जानकारी गराए।
अर्थमन्त्री खनालले आफूले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेको र निजी क्षेत्रका समस्याहरूसँग आफू परिचित रहेको बताए।
उनले अबका दिनमा सार्वजनिक सेवा प्रदान गर्ने निकायहरूबाटै नागरिकहरूले सरकारको मुहार अनुभूत गर्न सक्ने प्रतिबद्धता गरे।