ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक, पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका कारण सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलगत निरीक्षण गरिसकेका छन्।
मंगलबार साँझ उनले सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गरी आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडका कारण पुगेको क्षतिको जानकारी लिएका छन्।
सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरू गरिसकेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।
मन्त्री घिसिङले विनाशबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने बताए।
मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरून्त हटाउने, क्षतिको मूल्याङ्कन तत्काल गर्ने उनले उल्लेख गरे।
त्यस्तै, ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत् सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरू गरिने बताए।
‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्रि काम गर्दै गरौंला तर बाहिरी भाग चिटिक्क बनाएर राख्नु पर्यो। क्षति पुगेका सवारी साधन सिंहदरबार परिसरमा यत्रतत्र छरिएर कुरूप देखिएको छ, तत्काल व्यवस्थापन गर्नुपर्छ। यसबाट हामी उठ्यौं भन्ने सन्देश जान्छ’, मन्त्री घिसिङले भने।