चालु आर्थिक वर्ष २०८२/२०८३ को पहिलो दुई महिनामा ६० अर्ब रूपैयाँ बराबर राजस्व अन्तर देखिएको छ।
सरकारले साउन र भदौ महिनामा लक्ष्य राखेको तुलनामा वास्तविक राजस्व ६० अर्ब रूपैयाँ कम संकलन भएको अर्थमन्त्रालयको तथ्यांकले देखाएको छ।
सरकारले भदौ महिनासम्म २ खर्ब १८ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो।
तर यो समयमसम्म एक खर्ब ५८ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ।
भदौ महिनामा मात्रै ९४ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर भदौ महिनामा ७३ अर्ब रूपैयाँ सकंलन भएको छ।
चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा राजस्व घटेको छ। गत वर्ष साउन र भदौ महिनामा एक खर्ब ६९ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।
हालसालैको आन्दोलनको कारण करदाताले कर तथा कर विवरण बुझाउन नपाएको कारण सरकारले समय थप गरेको छ।
अर्थ मन्त्रालयले २०८२ साल साउन महिनाको कर अब २०८२ असोज ५ गतेसम्म बुझाउन सकिने निर्णय गरेको हो।
अर्थमन्त्रालयका अनुसार करदातालाई कर तिर्ने समय थप्नुका साथै करदातालाई विलम्ब शुल्क, ब्याज, दण्ड र जरिवाना पनि नलाग्ने व्यवस्था मिलाएको छ।
यस्तै, २०८२ साउन महिनाको करः आयकर, मूल्य अभिवृद्धि कर र आर्थिक ऐनबमोजिम बुझाउनुपर्ने शिक्षा सेवा शुल्कको विवरण र दाखिला पनि २०८२ असोज ५ गतेसम्म बुझाउन सकिनेछ।
सरकारको यो निर्णयले आन्दोलनका कारण समस्यामा परेका करदाताहरूलाई थप समय मिलेको छ।