सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण असोज मसान्तसम्म २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामै सरकारले १ खर्ब ८४ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गरिएको छ।
असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
यसबीच भुक्तानी गरेको साँवा घटाउँदा तीन महिनामा खुद ऋण दायित्व ५० अर्ब ६० करोड थप भएको छ। अहिले नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४४.६१ प्रतिशत पुगेको छ।
कार्यालयका अनुसार असोज मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ७८ अर्ब ७ करोड पुगेको छ। बाह्य ऋण १४ खर्ब ४६ अर्ब ५८ करोड पुगेको छ। यस अवधिमा विनिमय दरमा आएको उतारचढावका कारण नेपालको ऋण दायित्व ४० अर्ब २६ करोडले बढेको पनि तथ्यांकले देखाएको छ।
सरकारले यस वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण लिने लक्ष्य राखेकोमा असोज मसान्तसम्म लक्ष्यको १६.९३ प्रतिशत अर्थात् १ खर्ब ८४ करोड रुपैयाँ ऋण उठाइएको छ।
यस अवधिमा आन्तरिक ऋण ९० अर्ब रुपैयाँ उठाइएको छ भने बाह्य ऋण १० अर्ब ८४ करोड लिइएको छ, जसअनुसार लिएको ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८९.२४ प्रतिशत र बाह्य ऋणको हिस्सा १०.७६ प्रतिशत रहेको छ।
असोज मसान्तसम्म सरकारले सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा कुल १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ।
उक्त अवधिमा आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा ९६ अर्ब ४१ करोड र वाह्य ऋणको साँवाब्याज भुक्तानीमा १३ अर्ब ४७ करोड खर्च भएको कार्यालयले जनाएको छ।
तथ्यांकअनुसार कुल साँवा खर्च ९० अर्ब ५० करोड र ब्याज खर्च १९ अर्ब ३८ करोड भएको छ।
सरकारले यस वर्ष साँवा ब्याज भुक्तानीमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेकोमा असोजसम्मको खर्च २६.७४ प्रतिशत भुक्तानी पुगेको छ।