नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रमा विद्यमान स्रोतहरूको सदुपयोग गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको आर्थिक बहसमा उनले ब्याज दर कम रहेको, तरलता प्रशस्त भएको र विदेशी विनिमय सञ्चिति मजबुत रहेको बताए।
निजी तथा सार्वजनिक क्षेत्रले समन्वय गरेर माग सिर्जना गर्न आह्वान गरे।
गभर्नर पौडेलले हालको आर्थिक अवस्थालाई सकारात्मक रूपमा उपयोग गर्न सबै पक्षलाई आग्रह गरे।
उनले भने, 'सरकार वा राष्ट्र बैंकले सहयोग गर्नका लागि व्यवसायीहरूले पहिले उनीहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता छ।’
निजी क्षेत्रको सक्रियताले मात्र अर्थतन्त्रलाई गति दिन सक्ने उनले बताए।
उनी अर्थतन्त्रलाई 'सेल्फ फुलफिलिङ प्रोफेसी' को सिद्धान्तसँग जोड्दै मनोबलको महत्व उजागर गरे।
उनले भने, 'अर्थतन्त्र आत्म-पूर्तिका भविष्यवाणी द्वारा निर्देशित हुन्छ, त्यसैले सबैको मनोबल उच्च हुनुपर्छ।'
गभर्नर पाैडेलले बजारमा ८०० अर्बभन्दा बढी तरलता पार्किङ भएको, साढे १२ अरब डलरभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको र सरकारले २.७५ प्रतिशत ब्याजमा स्रोत जुटाउन सक्ने अवस्था रहेको बताए।
गभर्नरले निजी क्षेत्रको सम्पत्तिलाई राष्ट्रिय सम्पत्तिकै रूपमा लिनुपर्ने बताए।
उनले डिपार्टमेन्टल स्टोर, पूर्वाधार, जलविद्युत्, विद्यालय र अस्पतालहरू साझा सम्पत्ति भएको उल्लेख गरे।
उनले एभरग्रिडिङ (पुरानो ऋण तिर्न नयाँ ऋण लिने प्रवृत्ति) लाई समस्या ठानेर अक्षम फर्महरूलाई 'लेट इट गो' गर्न सुझाव दिए।
साथै, ब्ल्याक लिस्टमा परेका करिब डेढ लाख व्यक्तिको संख्या चेक बाउन्सका कारण बढेको र यसले क्रेडिट वृद्धिमा बाधा पुर्याएको बताए।