गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचीका प्रावधानमा अध्ययन गरेर रिभ्यू थालेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूची समेत भएकाले यसमा रिभ्यू गर्ने गरी प्रक्रिया अघि बढाएको जानकारी दिए।
उनका अनुसार तरलता अहिले व्यप्त छ। यसलाई घटाउन राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो समेत बनाएको छ। आगामी दिनमा लगानी बढ्दै जाने उनले बताए।
गभर्नर पौडेलले भने, ‘कालोसूचीका बारेमा अहिले रिभ्यू पनि गर्दैछौँ। मौद्रिक नीतिमा पनि आएको छ। एउटा सबैमा चासो पनि छ। जति हामीले अपेक्षा गरेका थियौं, मुलुकमा लगानीको ग्रोथ हुन सकिरहेको छैन। तरलता धेरै छ। क्रेडिट ग्रोथ नहुनेको कारण धेरै हुन सक्छ। त्यस आधारमा एउटा कारक धेरै मान्छेहरू कालोसूचीमा परेका छन्।’
गभर्नर पौडेलले निर्माण क्षेत्रमा ग्रुपमा गरिएको लगानीमा एक जनाले नराम्रो गरे सबै कालोसूचीमा पर्ने समस्यालाई समेत हटाइने बताए।
धितो राखेर ऋणीहरूले लोनहरू लिने र धितो लिलामी गर्दा कम मूल्यांकन गरेर बेच्ने प्रवृत्तिलाई हटाइने समेत गभर्नर पौडेलले बताए।
उनका अनुसार यो निजी क्षेत्रमा भएको करप्सनका रूपमा राष्ट्र बैंकले लिएको छ।
सरकारी बैंकबाट ऋण मिलाइदिने भन्दै बार्गेनिङ हुँदा सरकारी निकायहरूले रोक्न सक्ने भए पनि निजी बैंकहरूमा हुने त्यस्ता गतिविधिहरू रोक्न चुनौती रहेको भनाइ छ। गभर्नर पौडेलकाअनुसार त्यस्ता गतिविधिलाई राष्ट्र बैंकले गम्भीर रूपमा लिनेछ।
पौडेलले भने, ‘मैले लोन मिलाइदिन्छु, बैंक म्यानेजर भेट्न हिँड’ भनेर धेरै बिचौलिया एक्टिभ भएको पाएँ। मैले बैंक म्यानेजरहरूलाई त्यसको अध्ययन गरौँ भनेको छु मैले। क्रेडिटहरू एकदम स्वच्छ, सफा वातावरणमा जसले लगानी गर्ने हो, त्यसले पाउनुपर्छ। कुनै पनि व्यक्तिले जबरजस्ती अर्काको धितो सस्तोमा बेचर फाइदा उठाउने, अप्ठ्यारोमा परेकाबाट फाइदा उठाउन खोज्ने सबै कुराहरू भ्रष्टाचार हो। राष्ट्र बैंकले यसलाई क्षम्य रूपमा लिने छैन।’
गभर्नर पौडेलले मौद्रिक नीतिको पहिलो समीक्षामा आफूहरूले धेरै ठूलो लक्ष्य नराखेको बताए।
बैंक तथा वित्तीय संस्थाहरूको बैंक शाखाहरूमा आफूहरूले चासो राखेको बताए।
उनकाअनुसार बैंकहरूको नाफा बढोस् भन्ने उद्देश्यले महानगरभित्रका शाखाहरू समायोजन गर्न सक्ने वातावरण मौद्रिक नीतिको समीक्षामार्फत् व्यवस्था गरिएको बताए। यो प्रक्रिया अघि बढाइनेछ। बैंकहरूले सही ठाउँमा कर्जा प्रवाह गरेर प्रतिफल कमाउन भन्नेमै आफूहरूको धारणा रहेको उनले बताए। —न्युज एजेन्सी नेपाल