नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रसँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्।
‘जबसम्म निजी क्षेत्रसँगै लिएर जान सकिँदैन तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन। यो प्रमाणित पनि भइसकेको छ,’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने।
निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेर्नुपर्ने आवश्यकता रहेको उनले बताए। अर्थतन्त्रका एजेन्डाहरूमा नेपालपछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले बताए।
उनका अनुसार नेपालमा केही गर्न सकिँदैन भनेर जुन प्रचार गरिएको छ त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको छ। 'आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ। नेपालमा केही गर्न सकिँदैन भन्ने म्यासेजलाई चिर्दै निजी क्षेत्रले केही गर्न सकिन्छ भनेर गर्न सन्देश दिएका छौँ’, उनले भने।
त्यस्तै, जेनजी आन्दोलनले माग गरे जस्तै सुशासनका विषयमा निजी क्षेत्रले पनि माग गरेको उनले बताए।
आन्दोलनपछि कतिपय निजी क्षेत्रले माग गरेको विषयहरू परिवर्तन भइसकेका र हुने क्रममा रहेकाले निजी क्षेत्र उत्साहित रहेको छ।
साथै उनले सिईओको हातमा निर्णय रहने भएकाले उनीहरूको चाहना अनुसार काम हुने गरेको उनले गुनासो गरे। अध्यक्ष ढकालले भने, ‘सीईओले चाह्यो भने त्यो अध्यक्षलाई मनाएर जसरी पनि पारित गर्छ। तर यदि सिईओले चाहेन भने उसले कुनै कुरा पारित गर्न मान्दैन। यस्तो किसिमको गतिविधि सबैतिर रहेको छ।’
एफएनसीसीआईले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि देश तथा विदेशमा विभिन्न क्रियाकलापहरू गरेको समेत उनले जानकारी दिए ।