लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहे पनि नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताले हात नझिकेको बताएका छन्।
आइतबार नाफिजको साधारण सभामा उनले १७ खर्ब रूपैयाँ बराबरका परियोजनाहरू पाइपलाइनमा रहेको बताउँदै लगानीको वातावरण सुधारिएको अनुभूति भएपछि लगानीकर्ताहरू उत्साहित बनेको बताए।
सीईओ ज्ञवालीका अनुसार बोर्ड अहिले सुधार प्रक्रियामा छ। विज्ञहरूलाई सदस्यको रूपमा सामेल गर्ने तयारी भइरहेको छ।
लगानी बढाउनका लागि देखिएका कानुनी तथा प्रक्रियागत चुनौती समाधान गर्न बोर्ड प्रतिबद्ध रहेको उनले बताए।
जेनजी आन्दोलनपछि लगानीकर्ताले नेपालको अवस्थाबारे चासो बढाएको उल्लेख गर्दै उनले लगानीकर्तामा विश्वसनीयता र भरोसा जगाउन आवश्यक रहेको बताए।
उनका अनुसार सरकारले सार्वजनिक र निजी क्षेत्रले गर्ने परियोजनाको स्पष्टता ल्याउन समिति गठन गरी काम अघि बढाएको छ।
प्रतिस्पर्धात्मक प्रक्रिया बाहिर कुनै पनि परियोजना नदिने नीति बोर्डले अपनाएको जानकारी पनि उनले दिए।