अल्पविकसित राष्ट्र (एलडीसी)को सूचीबाट स्तरोन्नतीपछि वैदेशिक लगानी भित्र्याउन इक्विटीमा आधारित वित्तीय संरचना र नियामकीय सुधारमा नेपाललाई तुरून्तै अग्रसर हुन विज्ञहरूले आग्रह गरेका छन्।
काठमाडौंमा एसिया इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) द्वारा आयोजित उच्चस्तरीय छलफलमा फेडरेसन अफ सेन्ट किट्स एन्ड नेभिसका लगानी विशेषदूत क्याल्भिन स्ट जस्टेले निःशुल्क सहायताको युग समाप्त भइसकेको छ बताए।
'अब वैदेशिक लगानी आवश्यक छ,' उनले भने।
साथै नेपाललाई एलडीसीबाट बाहिरिनु चुनौती नभइ रूपान्तरणको अवसरको रूपमा लिन समेत उनले सुझाव दिए।
क्याल्भिनले नेपालकाे राजनीतिक अस्थिरता अस्थायी भएको स्मरण गराउँदै ऋणमा आधारित मोडलबाट बाहिरिएर इक्विटीमा आधारित लगानी संरचनामा जानुपर्ने उल्लेख गरे।
उनले अवैध वित्तीय क्रियाकलापसँग प्रतिस्पर्धी कर नीतिलाई जोड्ननहुने बताउँदै कर प्रणालीलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोगी बनाउनुपर्ने सुझाव दिए।
छलफलमा नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी रामकुमार तिवारी र केयर रेटिङ्सका प्रमुख कार्यकारीले राजनीतिक अनिश्चितता, नियामक निकायबीचको द्वन्द्व र उच्च कर दरले लगानीमा अवरोध सिर्जना गरेको गुनासो गरे।
पुँजी बजारमा विस्तार र उद्यमशीलता बढिरहेको र भविष्यमा अन्तर्राष्ट्रिय पहुँच विस्तार आवश्यक रहेको पनि सहभागीहरूले बताए।