नयाँ भन्सार ऐन कार्यान्वयनमा आएसँगै भन्सार एजेन्टहरूले काम ठप्प पारेपछि वीरगन्ज लगायत देशभरका भन्सार कार्यालयमा आयात–निर्यात प्रभावित भएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले भन्सार एजेन्टको हड्तालका कारण अधिकांश वस्तुको जाँचपास रोकिएको जानकारी दिए। उनका अनुसार दैनिक राजस्व असुली र व्यापार दुवै प्रभावित भएका छन्।
'भन्सार एजेन्टहरूको काम ठप्प भएपछि सामान्य औद्योगिक कच्चापदार्थदेखि उपभोग्य वस्तुसम्म धेरै सामानको क्लियरिङ बन्द छ,' ज्ञवालीले भने।
उनका अनुसार एलपी ग्यास, पेट्रोल र डिजेल जस्ता वस्तु भने रोकिएका छैनन्। ती वस्तुको जाँचपास प्रक्रियामा भन्सार एजेन्ट अनिवार्य रूपमा लाग्दैन। तर एजेन्ट आवश्यक पर्ने लगभग अन्य सबै सामानको आयात-निर्यात प्रभावित भएका छन्।
ज्ञवालीले भने, 'हामीले दैनिक करिब ७३ करोड राजस्व उठाउनुपर्ने लक्ष्य छ, यसलाई प्रभावित पारेको छ।'
भन्सार एजेन्टहरूले नयाँ ऐनका प्रावधानमा देखिएका ८–१० बुँदाका असहमति जनाउँदै काम बन्द गरेका हुन्। काम बन्दबारे पूर्वजानकारी नगराइएकाले कार्यालयमा आउने व्यवसायी र आयातकर्ता समेत अलमलमा परेको उनले बताए।
हिजो केही आंशिक काम भए पनि आज पूर्ण रूपमा काम रोकिएको र कसैले उक्साहटमा पारेर ठप्प बनाइएको उनको टिप्पणी छ।