मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को अनुदानमा निर्माण हुने ४० किलोमिटर लामो धानखोला–लमही सडक रिसाइक्लिङ परियोजनाको ठेक्का शर्मा–कुमार जेभीले पाएको छ।
ग्लोबल टेन्डरमार्फत छनोट भएको यो ठेक्का भ्याटबाहेक २ करोड अमेरिकी डलरमा दिइएको एमसिए नेपालले जानकारी गराएको छ।
एमसिए नेपालले एमसिसीको अनुदान र नेपाल सरकारको लगानीमा सडक सुधार, प्रसारण लाइन र सबस्टेसनसम्बन्धी परियोजना कार्यान्वयन गरिरहेको छ।
तीमध्ये प्रसारण लाइन र सबस्टेसनका ठेक्का यसअघि नै लागिसकेका थिए भने धानखोला–लमही सडक परियोजनाको ठेक्कामा सोमबार हस्ताक्षर गरिएको हो।
निर्माण अवधि २४ महिनाको दिइएको छ।
यो सडक नेपालमा पहिलोपटक पाइलट प्रोजेक्टमा रूपमा 'फुल डेप्थ रिक्लेमेसन एन्ड सुपरपेव अस्फाल्ट प्रविधि'मा निर्माण हुन लागेको जनाइएको छ।
सन् २०२४ को अक्टोबरमा बोलपत्र आह्वान गरिएको यस परियोजनामा ११ निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए।
शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त लगानीको शर्मा–कुमार जेभी एमसिसी अन्तर्गत कार्यान्वयन भइरहेका परियोजनामध्ये ठेक्का पाउने पहिलो पूर्ण नेपाली संयुक्त उपक्रम हो।
यसअघि प्रसारण लाइन परियोजनामा नेपाली कम्पनीहरू विदेशी साझेदारसँगको जेभीमा छनोट भए पनि पूर्ण रूपमा नेपाली कम्पनीले मात्रै ठेक्का पाएको यो पहिलो हो।
प्रतिस्पर्धामा नेपाल, भारत र युक्रेनका कम्पनी सहभागी थिए।
तीमध्ये शर्मा–कुमार जेभीसहित चार कम्पनी पूर्ण नेपाली स्वामित्वका थिए।
प्राविधिक र वित्तीय मूल्यांकनपछि शर्मा–कुमार जेभीलाई परियोजनाका लागि छनोट गरिएको हो।
एमसिसीमार्फत नेपालमा ऊर्जा तथा सडक पूर्वाधार निर्माणका लागि ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर योगदान रहेको छ।