अब सबै प्रकारको विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ।
राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (पाँचौं संशोधन) मार्फत कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने, नेपालमा कालोसूचीमा रहेको कम्पनीले समेत विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो।
नयाँ व्यवस्था अनुसार अब नेपालमा कालोसूचीमा रहेको कम्पनीले पनि विदेशबाट लगानी भित्र्याउन सक्नेछ।
यसअघि कालोसूचीमा परेको कम्पनीले विदेशबाट विदेशी लगानी ल्याउन नसक्ने व्यवस्था थियो। पाँचौं संशोधनमार्फत उक्त व्यवस्था हटाइएको हो।
तर यस्तो कम्पनीले विदेशी लगानी, लाभांश लगायत रकम फिर्ता लैजान भने कालोसूचीबाट बाहिर निस्किसकेको हुनुपर्नेछ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले भने, 'राष्ट्र बैंक हदैसम्म लचिलो भएर यो व्यवस्था गरेको हो। कालोसूचीमा परेकाले यहाँ वित्तीय संस्थाबाट ऋण पाउँदैनन्। तर विदेशी लगानीकर्ताले सम्भावना देख्छ भने लगानी गर्न सक्छ भन्ने हो।'
यस्तै, अब विदेशी लगानी प्राप्त गरी नयाँ स्थापना हुने उद्योग (ग्रिनफिल्ड इन्भेस्टमेन्ट) र सञ्चालनमा रहेका नेपाली उद्योगमा सेयरधनीले लगानी थप्न (ब्राउनफिल्ड इन्भेस्टमेन्ट) का लागि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ।
यसअघि विदेशी लगानी प्राप्त गरी नयाँ स्थापना हुने उद्योगका लागि राष्ट्र बैंकको अनुमति नचाहिने व्यवस्था भए पनि सञ्चालनमा रहेका उद्योगले लगानी थप्दा राष्ट्र बैंकको अनुमति चाहिने व्यवस्था थियो।