नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान अवस्था, राजनीति, निजी क्षेत्र र निर्वाचनबारे धारणा राखेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले ‘स्थायित्व र समृद्धिका लागि सहकार्य’ भन्ने विषय सामयिक, अर्थपूर्ण र महत्वपूर्ण रहेको बताए।
दाहालले जेनजी आन्दोलनले राजनीतिक नेतृत्व र समाजका स्थापित संस्थालाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए।
इतिहासको मञ्चबाट पन्छिने कि नयाँ संकल्पका साथ अघि बढ्ने भन्ने प्रश्न सबैका सामु उभिएको उनको भनाइ थियो।
'हामी सबैका अगाडि आफ्ना कमजोरी सच्याएर जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने कि औचित्य सकियो भनेर पन्छिने भन्ने गम्भीर प्रश्न छ,' उनले भने।
उद्योग वाणिज्य महासंघको संवाद कार्यक्रमले परिस्थितिको सही समीक्षा गर्ने अवसर दिएको उल्लेख गर्दै उनले केही समयअघि देशका प्रमुख सम्पादकहरूसँग भएको छलफल स्मरण गरे।
देश असाधारण संकटबाट गुज्रिरहेको र यसको समाधान राष्ट्रिय राजनीतिक वा सर्वपक्षीय सहमतिबाट मात्र सम्भव हुने कुरा आफूले त्यतिबेलै राखेको उनले बताए।
'निर्वाचनमा जाने वा अन्य विकल्प सोच्दा पनि राष्ट्रिय राजनीतिक सहमतिबाटै जानुपर्छ भन्ने मेरो मान्यता छ,' दाहालले उल्लेख गरे।
उनले अहिलेको आयोजनाले सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रलाई एउटै ठाउँमा बसेर सहमतिका साथ अघि बढ्ने वातावरण बनाएको बताए। धेरै चुनौतीका बाबजुद निर्वाचन नै देशको निकास हो भन्ने दृढता देखाइएकोमा उनले प्रधानमन्त्री र सरकारप्रति आभार व्यक्त गरे।
'देश अहिले अन्योलमा होइन, निर्वाचनको तयारी र मानसिकतामा अगाडि बढेको छ,' उनले भने।
सिंहदरबारमा रहँदा निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी सम्मेलनमार्फत धेरै प्रतिबद्धता जनाएको स्मरण गर्दै दाहालले निजी क्षेत्रको संरक्षण र प्रोत्साहन बिना विकास सम्भव नहुने धारणा राखे।
राज्य संरचना र सोचमा निजी क्षेत्रप्रतिको दृष्टिकोण सुधार गर्नुपर्ने उनको भनाइ थियो। संविधान बनाउँदा निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई समेटेर नेपाली मोडेलको विकास गर्ने प्रतिबद्धता भए पनि व्यवहारमा त्यसअनुसार अघि बढ्न नसकेको उनले स्वीकार गरे।
दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु, नयाँ जनादेश प्राप्त गर्नु र संविधान संशोधनमार्फत कानुनी सीमा र कमजोरी सुधार गर्नु आजको मुख्य आवश्यकता भएको बताए। संविधान बनाउँदा १० वर्षपछि समीक्षा गरिने भनिएको र अहिले त्यो समय आएको उनको भनाइ थियो।
जेनजी युवाहरूको दबाब र हालैका विध्वंसकारी गतिविधिले सबैलाई राष्ट्रप्रति अझ संवेदनशील भएर गहिरो सोच्न बाध्य बनाएको उनले बताए।