राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले संविधान बनेको १० वर्ष बितिसक्दा पनि शान्तिकै विषयमा बहस गर्नुपर्ने अवस्था आउनुको कारण खोज्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व विज्ञान प्रविधिमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा नेपालमा भने शान्ति र स्थायित्वकै विषयमा बहस गर्नुपर्ने अवस्थाको कारक खोज्नुपर्ने बताएका हुन्।
'यो अवस्था कसले ल्यायो? किन आयो? यसको उत्तर कसले दिनुपर्ने हो? यसको पनि बहस आवश्यक छ,' उनले भने।
भदौ २३ र २४ को घटना किन भए भन्ने विषयमा पनि बहस हुनुपर्ने उनले बताए।
यसबाट निजी क्षेत्र प्रभावित भएको अर्यालले बताए।
'नेपालको निजी क्षेत्रले ५० प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्दै आएको छ। ५५ लाख मानिसलाई रोजगारी दिएको छ। यसले सामाजिक समृद्धिमा ठूलो भूमिका खेलेको छ। प्रारम्भिक मूल्यांकनअनुसार निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति भयो,' उनले भने।
उनले देश चुनावकेन्द्रित भइरहेको बताउँदै सरकार, निर्वाचन आयोग र सम्बन्धित पक्षलाई उनले धन्यवाद ज्ञापन गरे।