राष्ट्रिय तथ्यांक कार्यालयले आगामी चैतदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ।
२०८२ आगामी चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म देशैभर सञ्चालन गर्ने भएको हो।
कार्यालयले गणनाको कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्दै जिल्लास्तरमा आर्थिक गणना कार्यालय स्थापना गरी देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र तथ्यांकीय माध्यमबाट प्राप्त गर्ने लक्ष्य लिइएको जानकारी दिएको छ।
कार्यालयका अनुसार यस गणनाबाट प्राप्त विवरणको आधारमा आर्थिक वर्ष २०८३/८४ को सुरू अवधिदेखि नै नतिजा क्रमशः सार्वजनिक गरिने उल्लेख छ।
यो गणनाले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्यांक उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
२०७५ सालमा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको र ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जना संलग्न रहेको तथ्यांक सार्वजनिक गरिएको थियो।
उक्त गणनाअनुसार २९.६ प्रतिशत महिला व्यवस्थापक रहेको र औपचारिक तथा अनौपचारिक प्रतिष्ठानको संख्या करिब बराबरी रहेको देखिएको उल्लेख छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रलाई २१ क्षेत्रमा विभाजन गरिएको भए पनि यस राष्ट्रिय आर्थिक गणनामा १८ वटा आर्थिक क्षेत्रमा आधारभूत विवरण संकलन गरिनेछ।
यसमा दर्ता भएका वा नभएका ठूला–साना उद्योग, व्यापार–व्यवसाय, सेवा क्षेत्र, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय, अस्पताललगायत आर्थिक क्रियाकलाप गरिरहेका एकाइहरू समेटिने बताइएको छ।
तर सार्वजनिक प्रशासन, सुरक्षा निकाय, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ–संस्था तथा घरायसी क्रियाकलापहरू भने गणनामा समावेश नहुने स्पष्ट गरिएको छ।
गणनाको तयारीस्वरूप २०८२ फागुनसम्म पूर्वतयारीका सबै कार्य सम्पन्न गरी चैत १ गतेदेखि ७७ जिल्ला र थप ७ गरी ८४ जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिने जानकारी दिइएको छ।
ती कार्यालयहरू २०८३ असार मसान्तसम्म सञ्चालन भई त्यसपछि बन्द गरिने उल्लेख छ।
प्रश्नावली, गणना पुस्तिका र अधिकृत पुस्तिकालगायत सामग्री निर्माण सुरू भइसकेको र जिल्लास्तरमा स्थायी कर्मचारीसँगै सुपरीवेक्षक तथा गणक करारमा खटाइने व्यवस्था गरिएको बताइएको छ।
कार्यालयका अनुसार फागुनदेखि चैत मसान्तसम्म विभिन्न चरणमा तालिम कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसपछि २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक र सुपरीवेक्षकहरू स्थलगत रूपमा खटिएर तथ्यांक संकलन गर्ने उल्लेख छ।