अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि सैन्य कारबाही गरेपछि क्युबा, कोलम्बिया र क्यानडालाई दिइरहेको धम्की पनि व्यवहारमा उतार्न सक्ने चिन्ता बढेको छ। यसको सिधा असर अन्तर्राष्ट्रिय बजारमा परेको छ।
भेनेजुएलामाथि सैन्य कारबाही गरेर राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेलगत्तै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको भाउ बढेको छ।
पछिल्लो अमेरिकी कदमका कारण युद्धको खतरा बढेकाले लगानीकर्ताहरूले 'सुरक्षित लगानी क्षेत्र' मानिने सुनमा आफ्नो पुँजी सार्न थालेपछि यसको मूल्य वृद्धि भएको हो।
सैन्य कारबाहीलगत्तै सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब २.२ प्रतिशत बढेर प्रतिऔंस ४,४२४ डलर पुगेको थियो। यसले मंगलबार पनि निरन्तरता पायो। मंगलबार यो थप २.७ प्रतिशत बढेर प्रतिऔंस ४,४४४ डलर पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपालमा पनि देखिएको छ।
स्थानीय बजारमा मंगलबार सुनको मूल्य ३१०० रूपैयाँ बढेर प्रतितोला २ लाख ६५ हजार रूपैयाँ पुगेको छ। यसअघि सोमबार प्रतितोला ४६०० रूपैयाँ बढेको थियो। दुई दिनमै सुनको मूल्य प्रतितोला ७७०० रूपैयाँ बढेको हो।
त्यस्तै, चाँदी पनि सोमबार तोलामा ४ हजार ६ सय ८५ रूपैयाँमा कारोबार भएको थियो भने मंगलबार थप बढेर ४ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
कुनै पनि राजनीतिक तनाव र युद्धको समय लगानीकर्ताहरूले सेयर र जोखिमयुक्त क्षेत्रबाट पुँजी निकालेर सुनमा लगानी गर्नु स्वाभाविक प्रक्रिया हो। भेनेजुएलामाथि अमेरिकाको सैन्य कारबाहीपछि पनि यही स्थिति देखिएको छ।
अर्थशास्त्रीहरूका अनुसार युद्ध, सैन्य हस्तक्षेप वा सरकार परिवर्तनजस्ता घटनापछि सुनमा लगानी बढ्नुका केही खास कारण छन्।
यस्तो अस्थिर अवस्थामा लगानीकर्ताहरूले सेयर, विदेशी मुद्रा वा अन्य जोखिमयुक्त क्षेत्रमा लगानी गरेको रकम झिकेर पुँजी निवेशका लागि तुलनात्मक स्थिर मानिने सुन र चाँदी रोज्ने गर्छन्। आर्थिक भाषामा यसलाई लगानीकर्ताहरू 'रिस्क–अफ मोड' मा गएको भनिन्छ।
सुनलाई लगानीको सुरक्षित क्षेत्र मानिनुका तीनवटा कारण छन् — सुन कुनै देश वा सरकारको नियन्त्रणमा हुँदैन, मुद्राझैं छाप्न सकिँदैन र बैंक, कम्पनी वा सरकार ढले पनि यसको बजार मूल्य शून्य हुँदैन।
'राजनीतिक संकट वा युद्धको समय सुनलाई विश्वव्यापी रूपले नै सुरक्षित क्षेत्रका रूपमा लिइन्छ। त्यसैले भू–राजनीतिक तनाव बढ्नेबित्तिकै लगानीकर्ता सुनतर्फ आकर्षित हुन्छन्,' अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एक बजार विश्लेषकलाई उद्धृत गर्दै लेखेको छ, 'भेनेजुएलाको घटनामा पनि त्यही भइरहेको छ।'
भेनेजुएला हमलाले ल्याएको युद्धको त्रास थप केही दिन जारी रह्यो भने अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य थप बढ्न सक्ने विश्लेषकहरूले बताएका छन्।
यहाँ अर्को प्रश्न पनि उठ्छ — युद्ध वा राजनीतिक संकट आयो भने सेयर बजार खस्छ र सेयर बजार खस्दा सुनको मूल्य किन बढ्छ?
यसको पछाडि पनि कारण छ।
युद्ध वा राजनीतिक संकट बेला व्यापार र लगानी जोखिमपूर्ण बन्छ। सेयर बजारमा कारोबार हुने कम्पनीहरूको बजार खस्कन सक्छ। यसले स्वाभाविक रूपमा सेयर बजार प्रभावित हुन्छ। त्यस्तै, मुद्रा पनि कमजोर हुने डर बढ्छ।
सेयर र मुद्रा दुवै जोखिमपूर्ण हुने यस्तो अवस्थामा सुनको माग बढ्छ।
भेनेजुएला घटनापछि लगानीकर्ताहरू अहिले यही मोडमा छन्, जसले सुनको मूल्यलाई माथि धकेलेको छ।