नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले गेन परियोजना सञ्चालनमा ल्याएको छ।
नेपाललाई विश्वबजारमा लेखा र वित्तीय सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित गर्ने अभियान सुरू गरिएको हो।
परियोजना अनुसार आगामी १० वर्षभित्र वार्षिक ६ अर्ब डलर बराबरको विदेशी मुद्रा आर्जन गर्ने र एक लाख १५ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।
परियोजनाले नेपालमै बसेर विदेशका ठूला कम्पनीका लेखा, कर र वित्तीय काम गर्ने वातावरण बनाउने दाबी गरिएको छ।
हाल नेपालबाट दैनिक दुई हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएको सन्दर्भमा यो परियोजना सञ्चालन गर्दा सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन हुने आइक्यान प्रतिनिधिले बताएका छन्।
गेन परियोजना विदेशमा भइरहेका लेखा सम्बन्धी काम नेपालमै ल्याएर यहाँका स्नातक र व्यवसायीलाई स्वदेशमै रोजगारी दिने अवधारणामा केन्द्रित छ।
परियोजनाअन्तर्गत साधारण कामभन्दा पनि उच्च सीप, जिम्मेवारी र बौद्धिक क्षमतामा आधारित लेखा सेवामा जोड दिइएको छ।
यसअघि बाहिरबाट आउने काम प्रायः सामान्य विवरण भर्ने वा दोहोरिने प्रकृतिका सीमित थिए।
अब भने विदेशी कम्पनीका लागि हिसाब–किताब राख्ने, करसम्बन्धी काम गर्ने र वित्तीय प्रतिवेदन तयार गर्ने जस्ता जिम्मेवारी नेपाली जनशक्तिले सम्हाल्ने तयारी गरिएको छ।
यसका लागि आवश्यक सीप विकास, तालिम र प्रणाली निर्माणलाई योजनाको मुख्य आधार बनाइएको छ।
अहिले करिब ३० मिलियन डलरको हाराहारीमा सीमित रहेको लेखा सेवा निर्यातको आम्दानीलाई १० वर्षभित्र ६ अर्ब डलर पुर्याउने अपेक्षा गरिएको छ।
हाल सय जनाको हाराहारीमा मात्र कोर लेखा आउटसोर्सिङमा संलग्न जनशक्ति रहेकामा तीन वर्षभित्र दश हजार र पाँच वर्षभित्र ५० हजार जनशक्ति यस क्षेत्रमा सक्रिय बनाउने लक्ष्य तय गरिएको छ।
यसले लेखा क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ।
नेपालमा लेखा क्षेत्रमा ठूलो जनशक्ति आधार रहेको तथ्यलाई परियोजनाको सबल पक्षका रूपमा प्रस्तुत गरिएको छ।
चार्टर्ड एकाउन्टेन्ट, दर्ता भएका एकाउन्टेन्ट र व्यवस्थापन विषयका स्नातक गरी ठूलो संख्यामा दक्ष जनशक्ति उपलब्ध रहेको छ।
अंग्रेजी भाषामा काम गर्न सक्ने क्षमता, तुलनात्मक रूपमा सस्तो श्रमशक्ति र समयको भिन्नताले विदेशी कम्पनीलाई नेपालबाट सेवा लिन सहज हुने अवस्था रहेको उल्लेख गरिएको छ।
आइक्यान अध्यक्ष निल सारूले गेन परियोजनालाई बौद्धिक पलायन रोक्ने ठोस प्रयासका रूपमा व्याख्या गरेका छन्।
'गेन परियोजनाको मुख्य उद्देश्य लेखा क्षेत्रका युवाले विदेश जानैपर्ने अवस्था अन्त्य गर्नु हो,' उनले भने।
नेपालमै राम्रो करियर र आम्दानीको सम्भावना देखाउन सकियो भने देशभित्रै जनशक्ति टिकाउन सकिने सारूले बताए।
परियोजनामा कर र कानुनी स्पष्टता, विदेशी भुक्तानीको सहजता, डेटा सुरक्षासम्बन्धी कानुनी व्यवस्था र पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताइएको छ।
विदेशी ग्राहकको विश्वास जित्न डेटा सुरक्षा र कानुनी ढाँचालाई बलियो बनाउनुपर्ने र उच्च गतिको इन्टरनेट, भरपर्दो बिजुली र सुरक्षित प्रणालीसहितका सेवा केन्द्र निर्माणमा गर्नु पर्ने उनको भनाइ छ।
उपाध्यक्ष आनन्द वाग्लेले गेन परियोजनाले अर्थतन्त्रको स्वरूप परिवर्तन गर्न सक्ने बताएका छन्।
'गेन परियोजनाले नेपाली युवालाई नेपालमै बसेर विश्वका ठूला कम्पनीसँग जोड्ने बाटो खोल्छ,' उनले भने।
यो अभियानले रोजगारी सिर्जना मात्र होइन, विदेशी मुद्राको दिगो स्रोत निर्माण गर्ने आधार पनि तयार गर्ने उनले बताए।
दक्ष जनशक्ति विदेश जानुपर्ने बाध्यता घटाउन सकियो भने त्यसको सकारात्मक प्रभाव दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्रमा देखिने उनको भनाइ छ।
नेपाली लेखा फर्म र विदेशी सेवाग्राहीबीच सीधा सम्पर्क गराउने डिजिटल माध्यम विकास गरी विश्वबजारमा पहुँच बढाउने योजना पनि यस परियोजनाको हिस्सा हो।
त्यस्ता माध्यममार्फत नेपाली फर्मको क्षमता, अनुभव र योग्यता देखिने गरी सूचीकरण गरिने र सफल कामका कथामार्फत देशकै स्तरमा प्रचार गरिने तयारी गरिएको छ।
यसले नेपालको लेखा क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने अपेक्षा गरिएको छ।
परियोजनाले विदेशमा रहेका नेपाली पेशेवरसँग सहकार्यलाई पनि अवसरका रूपमा लिएको छ।
बेलायत, अष्ट्रेलिया र अमेरिकाजस्ता देशमा पुगेका नेपाली लेखा व्यवसायीले त्यहाँ फर्म स्थापना गरी नेपालमा काम पठाइरहेका उदाहरणलाई विस्तार गर्ने लक्ष्य राखिएको छ।
यसबाट नेपालमै रोजगारी बढ्ने र वैदेशिक मुद्रा भित्रिने विश्वास गरिएको छ।
गेन परियोजनाको अगुवाइ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले गरेको हो। यो संस्था लेखा व्यवसायको नियमन, शिक्षा र सदस्यता प्रदान गर्ने स्वायत्त निकाय हो।
हाल यसले जनताको विश्वास कायम राख्ने र अर्थतन्त्र रूपान्तरण गर्ने दीर्घकालीन रणनीति कार्यान्वयन गरिरहेको छ, जसको केन्द्रमा यही गेन परियोजना रहेको छ।