मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महॅंगी दर) १.६३ प्रतिशतमा सीमित देखिएको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत थियो।
अघिल्लो वर्षको यो महिनासँग तुलना गर्दा न्यून वृद्धिदरमा महॅंगी देखिए पनि कात्तिकको तुलनामा भने केही बढेको छ।
कात्तिकमा १.११ प्रतिशत मात्रै यस्तो महॅंगी दर रहेको थियो।
राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको थियो।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.८९ प्रतिशत थियो।
प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशतले बढेको छ।
यस्तै, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले वृद्धि भएको छ।
तरकारी उप–समूहको उपभोक्ता मूल्य सूचकांक ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको उपभोक्ता मूल्य सूचकांक १८.५६ प्रतिशतले बढेको छ।
शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले वृद्धि भएको छ।
बीमा तथा वित्तीय सेवा उप–समूहको उपभोक्ता मूल्य सूचकांक भने ०.२३ प्रतिशतले घटेको छ।
प्रतिवेदनअनुसार ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.०९ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा १.८३ प्रतिशतले वृद्धि भएको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशको उपभोक्ता मुद्रास्फीति २.५४ प्रतिशत रहेको छ।
मधेश प्रदेशमा २.०१ प्रतिशत, बागमती प्रदेशमा १.४८ प्रतिशत, गण्डकी प्रदेशमा १.०८ प्रतिशत, लुम्बिनी प्रदेशमा १.६७ प्रतिशत, कर्णाली प्रदेशमा १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.४० प्रतिशत रहेको छ।
प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५ प्रतिशत रहेको छ।
तराई क्षेत्रमा १.७१ प्रतिशत, पहाड क्षेत्रमा १.३६ प्रतिशत र हिमाली क्षेत्रमा १.४७ प्रतिशत मुद्रास्फीति कायम रहेको छ।