काठमाडौं महानगरपालिकामा मात्र ५९ हजारभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार देशभर गरिबीको रेखामुनि रहेका ५९ लाख ११ हजार जनसंख्यामध्ये संख्यागत आधारमा सबभन्दा बढी गरिब काठमाडौंमा छन्।
२०७८ को जनगणना अनुसार काठमाडौं महानगरमा ८ लाख ६२ हजार ४०० जनसंख्या छ। तीमध्ये ५९ हजार २१८ जना गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा छ।
वर्षभरका लागि आधारभूत उपभोग्य वस्तुहरू जोहो गर्न नसक्ने स्थानीय तह गरिबीमा पर्छन्। राष्ट्रिय रूपमा वार्षिक प्रतिव्यक्ति ७२ हजार रूपैयाँ खर्च गर्न नसक्नेलाई गरिबका रूपमा गणना गरिन्छ। प्रदेश अनुसार यो दर फरक हुन्छ।
काठमाडौं उपत्यकाका लागि यस्तो रकम वार्षिक प्रतिव्यक्ति १ लाख २९ हजार ९३४ रूपैयाँ रहेको छ। वर्षको यति रकम खर्च गर्ने क्षमता नभएका व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको छ। नेपालमा कुल २० प्रतिशत जनसंख्या गरिबीमा पर्छन्।
गरिबी दर बढी भएका १० पालिका
प्रतिवेदन अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका नेपालकै सबभन्दा धेरै गरिब देखिएको छ। यहाँका २३ हजार ७७१ जनसंख्यामध्ये ७७.८९ प्रतिशत गरिबीको रेखामुनि छन्।
जाजरकोटको पश्चिम उत्तरमा अवस्थित जुनीचाँदे गाउँपालिका साबिक मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाउँ विकास समिति गाभेर बनेको हो। सरकारले २०७३ फागुन २७ गते जुनीचाँदे गाउँपालिका घोषणा गरी ११ वटा वडामा विभाजन गरेको थियो।
त्यस्तै, मुगुको सोरू गाउँपालिकाका १४ हजार २७७ जनसंख्यामध्ये ७२.३६ प्रतिशत गरिबीको रेखामुनि छन्।
गरिबीको तेस्रो स्थानमा अछामको ढकारी गाउँपालिका छ। यहाँका २१ हजार ९९८ जनसंख्यामध्ये ७०.५७ प्रतिशत गरिबीको रेखामुनि छन्।
चौथो स्थानमा बैतडीको सिगास गाउँपालिका छ। यहाँका २१ हजार ८१४ जनसंख्यामध्ये गरिबी दर ६६.८७ प्रतिशत छ।
पाँचौं गरिब स्थानीय तह अछामको कमलबजार नगरपालिका हो। यहाँका २१ हजार ३२ जनसंख्यामध्ये ६६.८ प्रतिशत गरिब छन्।
त्यस्तै, छैठौंमा मकवानपुरको राक्सीराङ गाउँपालिका, सातौंमा डोटीमा शिखर नगरपालिका, आठौंमा बाजुराको त्रिवेणी नगरपालिका, नवौंमा कृष्णनगर नगरपालिका र दसौंमा बैतडीको शिवनाथ नगरपालिका छन्।
धेरै गरिबी हुने स्थानीय तह कर्णाली र सुदूरपश्चिमका छन्। जिल्लागत रूपमा अछाममा धेरै गरिबी छ। यहाँ कुल जनसंख्याको ४९.५८ प्रतिशत गरिब छन्।
गरिबी दर कम भएका १० पालिका
प्रतिवेदन अनुसार सबभन्दा कम गरिबी रहेको पालिकामा मुस्ताङको घरपझोङ गाउँपालिका देखिएको छ। यहाँका ३ हजार ७२१ जसंख्यामध्ये १.१८ अर्थात् ४४ जना मात्र गरिबीको रेखामुनि छन्।
दोस्रो थोरै गरिबी दर भएको पालिका मोरङको केराबारी हो। यहाँका ३५ हजार ५०४ जनसंख्यामध्ये २.०८ प्रतिशत गरिबीको रेखामुनि छन्।
गोरखाको सहिद लखन गाउँपालिका तेस्रो स्थानमा छ। यहाँका २३ हजार ७६ जनसंख्यामध्ये २.७६ प्रतिशत गरिब छन्।
चौथोदेखि छैठौंसम्म क्रमश: झापाका तीन गाउँपालिका बुद्धशान्ति, हल्दिवारी र कमल छन्।
त्यस्तै, सातौंमा रूपन्देहीको तिलोत्तमा नगरपालिका, आठौंमा मुस्ताङको लो गेखर दामोदरकुण्ड गाउँपालिका, नवौंमा मनाङको नासेङ गाउँपालिका र दसौंमा तनहुँको बन्दीपुर गाउँपालिका छन्।