नेपाल र बंगालादेशबीचको दुई पक्षीय व्यापार सहजीकरण तथा गैर भन्सार अवरोधहरू कम गर्ने विषयमा आठौं वाणिज्य सचिवस्तरीय बैठक गरिएको छ।
बंगलादेशको राजधानी ढाकामा गरिएको बैठकमा मुख्य दुई विषयमा सहमति भएको छ।
वाणिज्य मन्त्रालयका अनुसार दुवै पक्षले आफ्नो प्राथमिकता प्राप्त व्यापार सम्झौताका पाठ, उत्पतिका नियम तथा वस्तु सूचीसम्बन्धी वार्तालाई छिटो टुंग्याउन आगामी तीन महिनाभित्र व्यापार वार्ता समितिको बैठक बोलाउने सहमति गरेका छन्।
त्यस्तै, भन्सार प्रक्रिया समन्वय, सीमापार भुक्तानी सहजता तथा व्यापक गैर–भन्सार अवरोध समाधानका विषयमा नजिकबाट सहकार्य गर्दै व्यापार र लगानीमा थप सुदृढ साझेदारी विकास गर्ने सहमति गरिएको छ।
बैंकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले गरेका थिए भने बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व बंगलादेश सरकारको वाणिज्य मन्त्रालयका सचिव महबुबुर रहमानले गरेका थिए।
सहमति बुँदाहरू दुवै देशका वाणिज्य सचिवहरूले हस्ताक्षर गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलमा वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय तथा ढाकास्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी थिए भने बंगलादेशी प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा सचिव घिमिरेले अन्य कर तथा शुल्कसहितका व्यापारसम्बन्धी अवरोधहरू घटाई द्विपक्षीय व्यापार अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए।
छिटै न्यून विकसित मुलुकको श्रेणीबाट स्तोरोन्नती हुँदै गरेको सन्दर्भमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा हित प्रवर्द्धन गर्न घनिष्ठ सहकार्य आवश्यक रहेको बताए।
बंगलादेशका सचिव महबुबुर रहमानले व्यापार र लगानी, कनेक्टिभिटी तथा पर्यटनमार्फत आर्थिक साझेदारीलाई थप गहिरो बनाउँदै अघि बढ्न संयुक्त रूपमा काम गर्नुपर्ने बताएका थिए।
उनले यातायात पूर्वाधार स्तरोन्नति, भन्सार प्रक्रिया सरलीकरण तथा व्यापार सहजता अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खुला गर्ने प्रतिबद्धता जनाए।