भदौ २३ र २४ को जेनजी आन्दोलनपछि लगानीकर्ताको आत्मविश्वास खस्किएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
क्लिकमान्डु डटकमको 'जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२' अध्ययन प्रतिवेदनले आत्मविश्वास खस्कनुको मूल कारण मध्ये जेन-जी विद्रोह देखाएका छन्।
अध्ययन प्रतिवेदनमा नेपालको उद्योग, वित्तीय क्षेत्र, पर्यटन तथा सेवा, ऊर्जा, शिक्षा, स्वास्थ्य, निर्माणलगायत क्षेत्रमा लगानी गर्ने १२१ जना ठूला उद्योगी व्यवसायीलाई सहभागी गराइएको उल्लेख छ।
जसमध्ये ९८ प्रतिशत व्यवसायीले जेन-जी विद्रोहका कारण आफ्नो मनोबल कमजोर बनेको र ९७ प्रतिशतले आफूले लगानीको वातावरण कमजोर बनेको महसुस गरेको प्रतिक्रिया दिएका छन्।
सहभागीमध्ये ४६ प्रतिशतको उद्योगमा र ३७ प्रतिशतको वित्तीय क्षेत्रमा लगानी छ।
अध्ययन प्रतिवेदनमा समावेश गरिएका व्यवसायीहरूमध्ये ४६ प्रतिशत व्यवसायीले प्रत्यक्ष क्षति व्यहोरेको बताएका छन्।
सहभागीहरूको कुल भौतिक क्षति करिब २५ अर्ब रूपैयाँ र प्रति व्यवसायी औसत क्षति ४४ करोड रूपैयाँ देखिएको छ।
सर्वेक्षणमा सहभागी २१ प्रतिशत व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा समेत आक्रमण भएको अध्ययन प्रतिवेदनमा देखिएको छ।
अध्ययनका क्रममा सर्वेक्षणमा सहभागीमध्ये कुल ६७ प्रतिशत व्यवसायीमा मनोवैज्ञानिक क्षति परेको पाइएको छ। ५४ प्रतिशतबाट बजार प्रभावित भएको जवाफ दिएका छन्।
जेनजी प्रदर्शनले लगानीकर्ताको मनोबलमा पारेको प्रभाव विश्लेषण गर्दा ९८ प्रतिशत व्यवसायीले आफ्नो मनोबलमा सामान्य, ठूलो वा अत्यधिक असर परेको जवाफ दिएका छन्।
२ प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक परेन भन्ने जवाफ दिएका छन् ।
लगानी थप गर्न वा व्यवसाय विस्तार गर्ने नीतिका विषयमा भने अब गर्दिन भन्नेको संख्या निकै न्यून छ।
आठ प्रतिशतले कुनै पनि हालतमा लगानी नबढाउने प्रतिक्रिया छ।
पर्ख र हेरको अवस्थामा ७० प्रतिशत र थप लगानी गर्न २१ प्रतिशत व्यवसायी लगानी विस्तारको क्रममा रहेको बताएका छन्।