अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट लेखन तयारीको क्रममा विभागीय मन्त्रीहरूसँग छलफल गरेका छन्।
सोमबार मात्रै नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग छलफल गरेका उनले आज (मंगलबार) बाँकी मन्त्रीहरूसँग छलफल गर्दैछन्।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय तालिकाअनुसार सोमबार सुरू भएको छलफल मंगलबारसम्म चल्नेछ।
सोमबार गृह मन्त्रालयसँग छलफलको सुरुआत भएको थियो।
त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेट छलफल भएको अर्थमन्त्रालयले जानकारी दिएको छ।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयका अर्थ र राजस्व सचिव, बजेट लेखन समितिको संयोजक तथा सदस्यहरू सहभागी छन्।
त्यस्तै, मन्त्रालयहरूको तर्फबाट बजेट तथा कार्यक्रम महाशाखा प्रमुख एवं महाशाखाका विषयक्षेत्रगत शाखा प्रमुखहरूले उल्लिखित मन्त्रालयका मन्त्री, सचिव छलफलमा छन्।
आगामी बजेटको खाका, नीति तथा कार्यक्रम र त्यसका लागि प्रस्तावित बजेट र स्रोत व्यवस्थापनबारे छलफल गरिएको छ।