इरान, अमेरिका र इसराइल बीचको युद्धका कारण विश्वभरका नागरिक महँगीको मारमा परिरहेका बेला केही ठूला कम्पनीले भने अर्बौं डलरको नाफा कमाइरहेका छन्।
युद्धका कारण उत्पन्न अनिश्चितता र इरानद्वारा स्ट्रेट अफ होर्मुज बन्द गरिएपछि दैनिक उपभोग्य वस्तुहरूको मूल्य निरन्तर बढिरहेको छ। यसले विश्वभरका सरकार, कम्पनी र परिवारहरूको बजेटमा प्रत्यक्ष असर पारेको छ। तर ऊर्जा, वित्तीय सेवा, रक्षा तथा नवीकरणीय ऊर्जा क्षेत्रका कम्पनीहरूले यो संकटबाट उल्लेखनीय लाभ लिइरहेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार इरान युद्धका कारण अर्बौं डलर नाफा कमाउने केही कम्पनीहरू यस प्रकार छन् —
तेल–ग्यास कम्पनीलाई उच्च नाफा
युद्धको सबभन्दा ठूलो प्रभाव ऊर्जा बजारमा परेको छ। विश्वमा आपूर्ति हुने करिब पाँचौं हिस्सा तेल र ग्यास स्ट्रेट अफ होर्मुज हुँदै जाने भए पनि हाल त्यहाँबाट ढुवानी लगभग अवरूद्ध भएको छ।
यस कारण मूल्यमा तीव्र उतारचढाव आएको छ, जसबाट ठूला कम्पनीहरूले फाइदा उठाएका छन्।
ब्रिटिस पेट्रोलियम (बिपी) को नाफा सन् २०२६ को पहिलो त्रैमासिकमा दोब्बरभन्दा बढी बढेर ३.२ अर्ब डलर पुगेको छ।
शेलले पनि अपेक्षाभन्दा बढी ६.९२ अर्ब डलर नाफा कमाएको जनाएको छ।
टोटल इनर्जीको नाफा करिब एक-तिहाइ बढेर ५.४ अर्ब डलर पुगेको छ।
अमेरिकी कम्पनी एक्जनमोबिल र सेभ्रनमा केही गिरावट देखिए पनि अपेक्षाभन्दा राम्रो नतिजा आएको छ र आगामी महिनामा अझ वृद्धि हुने अनुमान गरिएको छ।
बैंकिङ क्षेत्रमा पनि नाफा वृद्धि
वित्तीय बजारको अस्थिरताले ठूला बैंकहरूको आम्दानी पनि बढाएको छ।
जेपी मोर्गन चेजले सन् २०२६ को पहिलो तीन महिनामा ११.६ अर्ब डलर कमाएको छ, जुन उसको इतिहासकै ठूलोमध्ये एक हो।
त्यस्तै, बैंक अफ अमेरिका, मोर्गन स्ट्यान्ले, सिटीग्रुप, गोल्डम्यान स्याक्स र वेल्ड फार्गो लगायत बैंकहरूले पनि पहिलो त्रैमासिकमा उल्लेखनीय नाफा कमाएका छन्।
विश्लेषकहरूका अनुसार लगानीकर्ताहरूले जोखिमपूर्ण सम्पत्तिबाट पैसा निकालेर सुरक्षित मानिने सम्पत्तिमा लगानी बढाउँदा कारोबार परिमाण बढेको छ, जसले बैंकहरूलाई फाइदा पुगेको हो।
रक्षा उद्योगमा माग बढ्यो
युद्धका कारण रक्षा क्षेत्रमा लगानी बढेको छ।
बिएई सिस्टमले बढ्दो सुरक्षा चुनौतीका कारण आफ्नो बिक्री र नाफा दुवै बढ्ने अपेक्षा गरेको जनाएको छ।
विश्वका प्रमुख रक्षा कम्पनीहरू लकहिड मार्टिन, बोइङ र नर्थरप ग्रुमनसँग हाल ठूलो परिमाणमा अधुरा अर्डर रहेका छन्, जसले माग बढेको संकेत गर्छ।
नवीकरणीय ऊर्जातर्फ बढ्दो रूचि
युद्धले जैविक इन्धनमा निर्भरता घटाएर वैकल्पिक ऊर्जा स्रोततर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखाएको छ।
यसले नेक्स्टएरा इनर्जीको सेयर यस वर्ष १७ प्रतिशत बढेको छ।
डेनमार्कका भेस्टास र ओर्स्टेडले पनि नाफामा वृद्धि भएको जनाएका छन्।
बेलायतको अक्टोपस इनर्जीका अनुसार सोलार प्यानलको बिक्री ५० प्रतिशत बढेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विद्युतीय सवारीसाधनको माग पनि बढेको छ, जसबाट चिनियाँ कम्पनीहरूले बढी फाइदा उठाइरहेका छन्।