नेपाल बीमा प्राधिकरणले नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।
प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिएको जनाएको हो।
सूचनाअनुसार कम्पनीले ‘पूर्वबीमा दाबी भुक्तानी’ गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै यस्तो निर्णय गरिएको हो।
यद्यपि, यसअघि स्वीकृत भइसकेका पुनर्बीमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापनका काम भने कम्पनीले गर्न पाउने उल्लेख गरिएको छ।
यसअघि प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित पाँच जना उच्च व्यवस्थापनका अधिकारीसँग स्पष्टीकरण माग गरेको थियो।
कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा प्राधिकरणले स्पष्टीकरण मागिएको थियो।
सम्पत्ति शुद्धीकरण विभागले पनि फागुन २८ गते प्राधिकरणलाई पत्राचार गर्दै व्यवसायी दिपक भट्टको लागि नेपाल पुनर्बीमा कम्पनी लगायत विभिन्न कम्पनीहरूको सेयर खरिदका लागि हिमालयन रि–इन्स्योरेन्स तथा यससँग सम्बद्ध संस्थाबाट ३ अर्ब ८१ करोड रूपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आशंकामा आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।
