पछिल्ला केही दिनयता विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी र बैंकरलाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर आपत्ति जनाएको छ।
महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूमाथि फौजदारी कसुरको शैलीमा धरपकड गरिनुले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भएको जनाइएको छ। यसले लगानीकर्ता र व्यावसायिक समुदायमा नकारात्मक सन्देश गएको महासंघको भनाइ छ ।
महासंघले सर्वसाधारणको निक्षेप संकलन गरी सञ्चालन हुने बैंकको कर्जा असुली प्रक्रियासँग सम्बन्धित विषयका आधारमा बैंकका कार्यकारी अधिकृतलाई पक्राउ गर्नुले बैंकिङ क्षेत्रकै साखमा असर पुग्न सक्ने उल्लेख गरेको छ।
यस्ता घटनाले बैंकिङ क्षेत्रको निर्णय क्षमतामा असर पर्ने, कर्जा प्रवाहमा संकुचन आउन सक्ने र त्यसको प्रभाव समग्र अर्थतन्त्रमा पर्ने महासंघको भनाइ छ।
महासंघले प्रारम्भिक अनुसन्धानअघि नै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने र 'मिडिया ट्रायल' गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएको छ।
यस्ता कार्यले सम्बन्धित व्यक्तिको मान–प्रतिष्ठामा आँच पुग्ने भन्दै अनुसन्धान गोप्य रूपमा गर्न आग्रह गरेको छ।
देवानी दायित्व सिर्जना हुने प्रकृतिका मुद्दामा त्यसै अनुसार छानबिन र अभियोजन गर्नुपर्ने महासंघको माग छ।
महासंघले नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म कसुरदार मान्न नहुने व्यवस्थाको स्मरण गराउँदै यस विषयमा सरकार गम्भीर हुनुपर्ने जनाएको छ।
विगत चार वर्षदेखि शिथिल बनेको अर्थतन्त्र नयाँ सरकार गठनपछि व्यवसायीमैत्री नीति र व्यवहारमार्फत चलायमान बन्ने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गर्दै महासंघले यस्ता गतिविधिले लगानी विस्तार र लगानीकर्ताको आत्मविश्वासमा असर पर्न नहुने बताएको छ।
व्यावसायिक आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न महासंघले सरकारसँग अपिल पनि गरेको छ।