आर्थिक वर्ष २०८१-८२ मा विभिन्न सरकारी अस्पतालहरूमा ९ करोड ७ लाख १७ हजार रूपैयाँ मूल्यका औषधिजन्य मालसामान तथा किट को म्याद समाप्त भएकोले औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न महालेखा परिक्षकको कार्यालयले सुझाएको छ।
महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले यस्तो सुझाव दिएको हो।
स्वास्थ्य सेवा विभागमा गत विगतमा खरिद गरिएको २८ प्रकारका ४ करोड ७२ लाख २० हजार, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको ६ प्रकारका ४७ लाख ७० हजार र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार बराबरका औषधिको म्याद गुज्रिएको पाइएको हो।
त्यस्तै, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ करोड १९ लाख ९६ हजार र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको १ करोड २३ लाख ५६ हजार रूपैयाँसहित कुल ९ करोड ७ लाख १७ हजार मूल्यका औषधिजन्य मालसामान तथा कीट को म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्था रहेको उल्लेख छ।