श्रीलंकाको कोलम्बोस्थित राजगिरियामा नेपाली राजदूतावास स्थापना गर्न सन् १९८९ मे १८ मा खरिद भएको जग्गा दुई पटक निजी व्यक्तिलाई बिक्री गरिएको पाइएको छ।
महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले यस्तो खुलासा गरेको हो।
प्रतिवेदन अनुसार अमेरिकी डलर ३ लाख ६० हजारमा १.५ एकड जग्गा खरिद भएको थियो।
२०८१/८२मा जग्गामा कम्पाउन्ड वाल निर्माण गर्न ३० लाख रूपैयाँ बजेट विनियोजन भएकोमा उक्त जग्गाको स्वामित्व सम्बन्धमा स्पष्ट हुन नसकेको जनाई नियोगले उक्त रकम खर्च गर्न सकेको थिएन।
श्रीलंकाको सरकारी मूल्यांकनअनुसार हालको अवस्थामा उक्त जग्गाको मूल्य करिब अमेरिकी डलर ६५ लाख रहेकोमा उक्त जग्गाको आधिकारिक जग्गाधनी पूर्जा हालसम्म प्राप्त भएको छैन।
२०८१ ८२मा श्रीलंकाको घरजग्गा व्यवस्थापन गर्ने सरकारी निकायमा खोजी गर्दा नेपाल सरकारको नाममा रहेको उक्त जग्गामध्ये एक एकड जग्गा सन् १९९४ मे ९ सम्म दुई पटक निजी व्यक्तिलाई बिक्री भइसकेको विवरण प्राप्त भएको प्रतिवेदनले उल्लेख गरेको छ।
सो जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याई संरक्षण तथा उपयोग गर्नु महालेखा परीक्षकको कार्यालयले सुझाएको छ।