साना उद्योग केन्द्रित वैदेशिक लगानीको स्वीकृतिमा सुधार देखिएको छ।
मध्यम र ठूला उद्योगमा भने यो वर्ष वैदेशिक लगानीको प्रतिबद्धता तथा स्वीकृति अति न्यून देखिएको छ।
उद्योग विभागको तथ्यांकले विदेशी लगानीको ढाँचा बदलिएको संकेत गरेको छ।
२०८२ साउनदेखि २०८३ वैशाखसम्म (१० महिनामा) ७२८ वटा वैदेशिक लगानी परियोजना स्वीकृत भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५७६ थियो। अघिल्लो वर्षमा स्वीकृत भएको परियोजना संख्याको आधारमा थप १५२ वटा वैदेशिक लगानीका परियोजना स्वीकृत भएको हो।
तर लगानी प्रतिबद्धता रकम भने उल्लेखनीय घटेको छ।
गत वर्ष वैशाखसम्म ५७ अर्ब ६ करोड ७६ लाख बराबरको प्रतिबद्धता स्वीकृत गरिएको थियो। यस वर्ष यो घटेर ४५ अर्ब ३२ करोड १६ लाखमा सीमित भएको छ। परियोजना संख्या बढे पनि लगानीको आकार सानो हुँदै गएको छ।
साना परियोजनामा लगानी स्वीकृति बढ्दा रोजगारी प्रस्ताव भने उल्लेख्य रूपमा बढेको छ।
स्वीकृत दिएका उद्योग सञ्चालनमा आउँदा गत वर्ष वैशाखसम्म १४ हजार ७१९ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको थियो।
यस वर्ष यस्तो संख्या बढेर २३ हजार ५३० पुगेको छ। श्रममुखी तथा सेवा क्षेत्रका परियोजना बढेको कारण रोजगारी बढ्ने संकेत विभागको तथ्यांकले देखाएको छ।
क्षेत्रगत रूपमा सबैभन्दा ठूलो वृद्धि सूचना प्रविधि क्षेत्रमा देखिएको छ। गत वर्ष वैशाखसम्म २३५ वटा आइटी परियोजना स्वीकृत भएका थिए। यस वर्ष यस्तो संख्या बढेर ४२१ पुगेको छ।
कुल परियोजनामध्ये आइटी क्षेत्रको हिस्सा ४१ प्रतिशतबाट बढेर ५८ प्रतिशत पुगेको छ।
कम पुँजी, कम भौतिक पूर्वाधार र सेवा निर्यातको सम्भावनाका कारण विदेशी लगानीकर्ताको आकर्षण आइटी क्षेत्रमा केन्द्रित भएको देखिन्छ।
नेपालमा युवा जनशक्ति र डिजिटल सेवाको विस्तारले पनि यो क्षेत्रलाई आकर्षक बनाएको मानिन्छ।
कृषि क्षेत्रमा पनि ठूलो परिवर्तन देखिएको छ। गत वर्ष वैशाखसम्म कृषि क्षेत्रमा १ अर्ब ४२ करोड ६० लाख बराबरको प्रतिबद्धता आएको थियो।
यस वर्ष यो बढेर २२ अर्ब ८ करोड ८० लाख पुगेको छ। एउटै उद्योगमा २० अर्ब रूपैयाँको विदेशी लगानी स्वीकृत भएको कारण यति धेरै अन्तर देखिएको हो।
पर्यटन क्षेत्र भने खुम्चिएको छ। गत वर्ष वैशाखसम्म २२३ वटा पर्यटन परियोजना स्वीकृत भएका थिए। यस वर्ष यो संख्या घटेर १८९ मा आएको छ। कुल परियोजनामा पर्यटनको हिस्सा पनि ३९ प्रतिशतबाट घटेर २६ प्रतिशतमा सीमित भएको छ।
यता विदेशी लगानीकर्ताले लाभांश फिर्ता लैजाने रकम भने तीव्र रूपमा बढेको छ।
चालु आर्थिक वर्ष वैशाखसम्म १७ अर्ब ७९ करोड ५३ लाख लाभांश बाहिरिएको छ। गत वर्ष सोही अवधिमा यस्तो रकम ९ अर्ब ४९ करोड ९६ लाख थियो।
यसले नेपालमा सञ्चालनमा रहेका विदेशी लगानीयुक्त कम्पनीले नाफा कमाइरहेको देखाएको छ।
व्यावसायिक भिसा सिफारिस संख्या भने घटेको छ। गत वर्ष वैशाखसम्म २ हजार ६८९ जनालाई व्यावसायिक भिसा सिफारिस गरिएको थियो। यस वर्ष यो घटेर १ हजार ६८० मा आएको छ।
वैशाखमा मात्रै ११३ परियोजना, लगानी ३ अर्ब ५२ करोडमा सीमित
वैशाख महिनाको मात्र तथ्यांकले पनि यही प्रवृत्ति देखाउँछ। चालु आर्थिक वर्षको वैशाखमा ११३ वटा वैदेशिक लगानी परियोजना स्वीकृत भएका छन्। अघिल्लो वर्ष वैशाखमा यस्तो संख्या ९७ थियो।
तर प्रतिबद्धता रकम भने उल्लेख्य रूपमा घटेको छ। गत वर्ष वैशाखमा ९ अर्ब ९ करोड २२ लाख बराबरको लगानी प्रतिबद्धता आएको थियो। यस वर्ष वैशाखमा यो घटेर ३ अर्ब ५२ करोड ३० लाखमा सीमित भएको छ।
रोजगारी प्रस्ताव पनि घटेको छ। गत वर्ष वैशाखमा २ हजार ५९३ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको थियो। यस वर्ष यस्तो संख्या ९४८ मा झरेको छ।
यसले वैशाख महिनामा आएका अधिकांश परियोजना साना आकारका रहेको देखाउँछ। विशेषगरी आइटी तथा सेवा क्षेत्रका परियोजना बढेकाले कम लगानीमा धेरै परियोजना स्वीकृत भएको देखिन्छ।
वैदेशिक लगानीको स्वरूप ठूलो अन्तर देखिन थालेको छ। परम्परागत पर्यटन र ठूला उद्योगभन्दा डिजिटल सेवा, आइटी र कृषि प्रशोधनतर्फ विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको तथ्यांकले देखाएको छ।