चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर मात्रै राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांक अनुमान अनुसार चालु आव राष्ट्रिय कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.८५ प्रतिशत रहनेछ।
प्रदेशगत रूपमा बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.४० प्रतिशत र गण्डकीको ५.०१ प्रतिशत रहने अनुमान छ।
अन्य प्रदेशमध्ये कोशीको ३.१३ प्रतिशत, मधेसको १.३१ प्रतिशत, लुम्बिनीको २.८७ प्रतिशत, कर्णालीको २.९४ प्रतिशत र सुदूरपश्चिमको ३.२८ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरिएको छ।
गत आर्थिक वर्षको तुलनामा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा सुधार देखिएको छ।
कोशीको वृद्धिदर २.७२ प्रतिशतबाट ३.१३ प्रतिशत पुगेको छ।
बागमतीको ५.२९ प्रतिशतबाट ५.४० प्रतिशत र गण्डकीको ४.९२ प्रतिशतबाट ५.०१ प्रतिशत पुगेको छ।
सुदूरपश्चिमको वृद्धिदर ३.२१ प्रतिशतबाट ३.२८ प्रतिशत पुगेको छ।
मधेसको वृद्धिदर भने ४.४३ प्रतिशतबाट घटेर १.३१ प्रतिशतमा झरेको छ।
लुम्बिनीको ४.२७ प्रतिशतबाट २.८७ प्रतिशत र कर्णालीको ५.२५ प्रतिशतबाट २.९४ प्रतिशतमा घट्ने अनुमान गरिएको छ।
कार्यालयका अनुसार चालु आव राष्ट्रिय अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान छ।
यसमध्ये बागमती प्रदेशको योगदान सबैभन्दा धेरै २४ खर्ब २३ अर्ब अर्थात् ३६.७ प्रतिशत रहनेछ।
कोशीको योगदान १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनीको ९ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेसको ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकीको ५ खर्ब ९३ अर्ब (९ प्रतिशत), सुदूरपश्चिमको ४ खर्ब ६४ अर्ब (७ प्रतिशत) र कर्णालीको २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) रहने अनुमान छ।
प्रदेशगत प्रतिव्यक्ति आयमा बागमती सबैभन्दा अगाडि छ।
बागमतीको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ अमेरिकी डलर रहने अनुमान गरिएको छ।
गण्डकीको १ हजार ६ सय ५१ डलर, कोशीको १ हजार ४ सय १० डलर, लुम्बिनीको १ हजार २ सय ८ डलर, सुदूरपश्चिमको १ हजार १ सय ७० डलर, कर्णालीको १ हजार १ सय ८ डलर र मधेसको ९ सय ३४ डलर रहने अनुमान गरिएको छ।