विदेशी वस्तुको आयात महिनामै दुई खर्ब रूपैयाँ नाघेको छ। भन्सार विभागको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै दुई खर्ब दुई अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको हो।
महिनागत आयात व्यापारमा यो अहिलेसम्मकै उच्च हो।
चैत महिनामा पनि करिब दुई खर्ब एक अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। फागुनमा भने एक खर्ब ६६ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो, माघमा एक खर्ब ८४ अर्ब रूपैयाँको आयात भएको थियो।
गत आर्थिक वर्षको औसत महिनागत आयात एक खर्ब ५० अर्ब रूपैयाँ बराबरको थियो।
आर्थिक वर्ष २०८०/८१ मा औसत मासिक आयात एक खर्ब ४० अर्ब रूपैयाँ थियो।
चालु आर्थिक वर्षमा हालसम्मको औसत महिनागत आयात एक खर्ब ६९ अर्ब रूपैयाँ बराबरको छ।
सामान्यतया आयात बढ्नुले बजारको माग र उपभोग बढेको संकेत गर्छ।
डिजेल, पेट्रोल लगायत औद्योगिक कच्चा पदार्थको आयात बढ्दा उद्योगमा लगानी बढेको र निर्माण गतिविधि विस्तार भएको मानिन्छ।
तर अहिले आयात रकम बढ्नुको मुख्य कारण मूल्य वृद्धि देखिएको छ।
परिमाणका हिसाबले धेरै वस्तुको आयात घटे पनि मूल्य बढेका कारण कुल आयात रकम बढेको भन्सार तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको १० महिनामा ६ लाख २१ हजार लिटर पेट्रोल आयात भएको छ। गत वर्ष सोही अवधिमा ६ लाख १२ हजार लिटर पेट्रोल आयात भएको थियो।
परिमाणका हिसाबले १.६ प्रतिशत मात्रै वृद्धि भएको छ। तर मूल्यका हिसाबले भने ११ प्रतिशतले बढेको छ।
गतवर्ष यही अवधिमा ५३ अर्ब ५ करोड रूपैयाँ बराबरको पेट्रोल आयात भएको थियो। अहिले ५८ अर्ब ६३ करोड रूपैयाँ बराबरको आयात भएको छ।
गत वर्ष र चालु वर्षको १० महिनाको औसत तुलना गर्दा पेट्रोलको मूल्य वृद्धि करिब ९ प्रतिशत देखिए पनि फागुनयता मूल्य वृद्धि धेरै भएको छ।
फागुनसम्म प्रतिलिटर पेट्रोलको औसत आयात मूल्य ८५ रूपैयाँ थियो।
तर, चैत र वैशाखमा आयात भएको पेट्रोलको मूल्य प्रतिलिटर १३४ रूपैयाँ पुगेको भन्सार तथ्यांकले देखाउँछ।
डिजेलमा पनि अवस्था उस्तै छ। परिमाणका हिसाबले गत वर्षको १० महिनाको तुलनामा यो वर्ष १० महिनामा तीन हजार लिटर कम डिजेल आयात भएको छ।
तर मूल्यका हिसाबले गत वर्षको तुलनामा २८ अर्ब रूपैयाँ बढीको आयात भएको छ।
फागुनसम्म प्रतिलिटर डिजेलको औसत आयात मूल्य ९१ रूपैयाँ थियो।
चैत र वैशाखमा आयात भएको डिजेलको औसत मूल्य प्रतिलिटर १९७ रूपैयाँ पुगेको भन्सार तथ्यांकले देखाएको छ।
पछिल्ला दुई महिनामा मूल्य बढेपछि प्रयोग भने घटेको छ।
२०८१ चैत र २०८२ वैशाखमा एक लाख २२ हजार लिटर पेट्रोल आयात भएको थियो। यो पटक भने एक लाख १० हजार लिटर मात्रै आयात भएको छ।
गत वर्षको चैत र वैशाखमा दुई लाख ७६ हजार लिटर डिजेल आयात भएको थियो। अहिले घटेर दुई लाख ४७ हजार लिटरमा सीमित भएको छ।
डिजेल र पेट्रोलजस्तै ग्यास, हवाई इन्धन, अलकत्रा तथा अन्य पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ।
औद्योगिक कच्चा पदार्थ, खाद्यवस्तु, सुनचाँदी लगायत अधिकांश आयातित वस्तुको मूल्य बढेका कारण महिनागत आयात दुई खर्ब रूपैयाँ नाघेको हो।
मूल्य बढेका कारण आयात रकम दुई खर्ब रूपैयाँ माथि पुगे पनि निर्यात भने त्यसअनुसार बढ्न सकेको छैन।
वैशाख महिनामा २६ अर्ब रूपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ। गत वर्षको औसत महिनागत निर्यात २३ अर्ब रूपैयाँ बराबरको थियो।
चालु वर्षको पुससम्म निर्यात ४३ प्रतिशतले बढेकोमा अहिले वृद्धि दर १४ प्रतिशतमा सीमित भएको छ।