कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि संशोधनको समय नै नदिइएको भन्दै मुख्य विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले विरोध गरेका छन्।
मंगलबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले जबाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि उनले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे।
लगत्तै मुख्य विपक्षी नेकपाका सांसदहरूले उठेर संशोधनको समय नदिई कसरी नीति तथा कार्यक्रम पारित भयो भनेर प्रश्न गर्न थाले।
नेकपा संसदीय दलका नेता इन्द्र आङ्बो, पूर्वमुख्यमन्त्री राजेन्द्र राई सहितका सांसदहरूले संशोधनका लागि आवश्यक समय उपलब्ध नगराइएको भन्दै असहमति प्रकट गरे। लगत्तै नेकपाका सबै सांसद उठे।
सभामुख विष्टले पारित भइसकेपछि यो विषय आएको भन्दै सांसदहरूलाई बस्न भनिरहे, विपक्षी सांसदले संशोधन समय नदिइएको भन्दै बस्न अस्वीकार गरिरहे।
सभामुखले नियमावली अनुसार सदन अघि बढेको भन्दै अवरोध नगर्न आग्रह गरे पनि नेकपा सांसदहरू0ले मानेनन्। त्यसपछि सभामुख विष्टले बुधबार ११ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए।
जेठ ७ मा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री कार्कीले मंगलबार दिएका थिए।