सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्मको अवधिमा सरकारी आम्दानी र खर्चबीच ५८ अर्ब रूपैयाँ घाटा देखिएको जनाएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वमा जारी द्वन्द्वका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि ३.१ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।
यस्तै, नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
फागुनसम्म राजस्व संकलन ३ प्रतिशतले वृद्धि भएको छ भने सरकारी खर्च १० प्रतिशतले बढेको छ।
तर, पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको सर्वेक्षणमा उल्लेख छ।
यस अवधिमा सरकारले आन्तरिक तथा बाह्य स्रोतबाट करिब ३ खर्ब रूपैयाँ ऋण परिचालन गरेको छ।
त्यस्तै, विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रूपैयाँ पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा रहेको अर्थमन्त्रीले बताए।